काठमाडौं । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको छ। म्यानमारले दिएको ३० रनको झिनो लक्ष्य नेपालले २ विकेटको क्षतिमा ३ ओभरमा भेट्टाएकाे हाे । नेपालका करण केसीले नटआउट १४ रन र विनोद भण्डारीले नटआउट १ रन जोडे । करणले ८ बलमा १ चौका र १ छक्का प्रहार गरे । विनोदले ३ बल मात्र खेले।
ओपनिङमा आएका प्रदीप ऐरी दोस्रो बलमा शून्यमा आउट भएका थिए। त्यसपछि मैदान आएका अनिलकुमार साह दोस्रो ओभरको पहिलो बलमा ११ रन बनाएर आउट भए। उनले ५ बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यसअघि बुधबार मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा २९ रनमा अलआउट भएको थियाे ।
म्यानमारको इनिङ ध्वस्त पार्न नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । उनले २ ओभरमा ३ रन मात्र खर्चिए । यस्तै ललितनारायण राजवंशीले ३ विकेट लिन सफल भए । उनले ३ ओभरमा २ मेडन राख्दा ३ रन खर्चिए। यस्तै ललित भण्डारी र करण केसीले १–१ विकेट लिए।
छनोटमा बुधबार भएका अन्य खेलमा मलेसियाले भुटानलाई ६७ रन र थायल्यान्डले चीनलाई १० विकेटले पराजित गरेका छन्।
छनोटमा नेपालले आयोजक मलेसिया, भूटान, सिङ्गापुर, चीन, म्यानमार, थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। राउन्ड रोबिनको आधारमा हुने सो प्रतिस्पर्धाबाट शीर्ष ३ टोली दोस्रो चरणका लागि छनोट हुनेछन्।
छनोट प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल असोज २० गते मलेसियासँग खेल्नेछ। यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टोली गरी ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ भने १४ मध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।








