काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका बारेमा अब महिला प्रहरीको टोलीले पनि अनुसन्धान गर्ने भएको छ । यसका लागि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दुर्गा सिंहको नेतृत्वमा टोली खटाएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार मंगलबार बिहान एसपी सिंह कञ्चनपुर लागेकी छन्।
पीडित, स्थानीय महिलाअधिकारकर्मी तथा अन्यसँग समन्वय गरी अनुसन्धानलाई प्रभावकारी बनाउका लागि प्रहरी एसपी सिंहको नेतृत्वमा टोली खटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
घटनाको गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताउँदै चाँडै यर्थाथ विवरण सार्वजनिक हुने प्रहरी उच्च स्रोतले जनाएको छ ।
१३ वर्षीया बालिका पन्तको हत्या भएको २ महिना बित्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। निर्मलाको न्यायका लागि उनका बुवाआमासहित कञ्चनपुरबाट महिला अधिकारकर्मी काठमाडौं आएका थिए। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनीहरु घर फर्किइसकेका छन्।








