एजेन्सी । आइसिसीले सन् २०२० मा अष्ट्रेलियामा हुने टि-२० विश्वकपको उपक्षेत्रीय छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। कुल ६२ देशले सहभागिता जनाउने उपक्षेत्रीय छनोट प्रतियोगितामा सहभागी टोलीमध्ये २५ देशले क्षेत्रीय छनोटको फाइनल चरणमा स्थान बनाउने छन् भने शीर्ष सात टोली छनोट प्रतियोगितामा सहभागी हुनेछन्।
जसबाट उत्कृष्ट दुई टिमले टि- २० विश्वकपको ग्लोबल छनोट खेल्नेछन्। ग्लोबल छनोटमा आइसिसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरसम्म रहेका टिम र विभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका आठ टिम गरी १४ टिम सहभागी हुनेछन्। आइसिसी टि- २० वरियताका शीर्ष नौ र आयोजक अस्ट्रेलिया गरी १० टिम टि(२० विश्वकपमा स्वतः छनोट हुनेछन् भने ग्लोबल छनोटबाट छ टिम गरी कुल १६ टिम टि(२० विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
नेपाल रहेको एसिया ‘बी’मा मलेसिया, भुटान, म्यानमार, चीन, सिंगापुर र थाइल्याण्ड छन्। यस उपक्षेत्रबाट शीर्ष तीन टोली एसियाली छनोटमा सहभागी हुनेछन्।एसिया ‘बी’ उपक्षेत्रीय छनोट अक्टोबर ३ बाट मलेसियामा हुनेछ। प्रतियोगिता राउन्ड–रोबिन लिगका आधारमा खेलाइने छ। नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यानमारको सामना गर्नेछ। त्यस्तै, अक्टोबर ६ मा हुने दोस्रो खेलमा मलेसियाको सामना गर्नेछ भने अक्टोबर ७ मा तेस्रो खेल थाइल्याण्डविरुद्ध खेल्ने छ। यसैगरी, चौथो खेल अक्टोबर ९ मा भुटानविरुद्ध, पाँचौ खेल अक्टोबर १० मा चीनविरुद्ध र अन्तिम खेल अक्टोबर १२ मा सिंगापुरविरुद्ध खेल्ने छ। एसियाली क्षेत्रीय छनोट प्रतियोगिताका लागि यसअघि नै एसिया ‘ए’ उपक्षेत्र (पश्चिमी) बाट युएई, कुबेत र कतार छनोट भइसकेका छन्। पूर्वी र पश्चिमी क्षेत्रको छनोटबाट छानिएका तीन तीन देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन्।








