काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा बिहीबार भुटानसँग प्रतिस्पर्धा गर्दैछ । बङ्गलादेशमा जारी उक्त प्रतियोगिताको अघिल्लो चरण प्रवेशका लागि पनि नेपाललाई भुटानविरुद्धको खेल जित्नै पर्ने दबाब छ । खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे ढाकाको बङ्गबन्धु नेशनल स्टेडियममा हुनेछ ।
उपाधि जित्ने लक्ष्यका साथ बङ्गलादेश पुगेका नेपाली टोली अहिलेसम्म साफ च्याम्पियनसिप फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । मङ्गलबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको थियो । खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्न बाध्य बनेको थियो ।








