काठमाडौं । काठमाडौंबाट अपहरणमा परेका ११ वर्षीय बालकको खोजी गर्ने क्रममा प्रहरीसँगको इन्काउन्टरमा भक्तपुर डोलेश्वर महादेवको मन्दिर क्षेत्रको जंगलमा दुईजनाको मृत्यु भएको छ । प्रहरीसँग सूर्य विनायक नगरपालिका–८ पाइलटबाबाको आश्रम जाने बाटोको जंगलमा मंगोलियन अनुहार परेका दुई जनासँग दोहारो मुठभेट भएको र त्यसक्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अपहरणकारीमा गोपाल तामाङ र अजय तामाङ भएको र उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक अपहरणकारीको साथबाट एउटा पेस्तोल, दुई राउण्ड गोली, अपहरणमा परेका बालककी आमा चमेली खड्कालाई फिरौती माग गर्दा प्रयोग गरिएको सिम र फोन प्रहरीले फेला परेको छ ।
यस्तो थियो घटना
आइतवार साँझ करीब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त भएको थियो । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने भमेली खड्काका ११ वर्षीय छोरा निशान खड्का अपहरणमा परेका थिए । अपहरणकारीले बालककी आमासँग ४० लाख फिरौती रकम माग गरेका थिए । अपहरणको सूचना पाएपछि आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन भएको थियो । बालकका बुवा गणेश खड्का रोजगारीका लागि मलेसियामा रहेका छन् ।












