ऐतिहासिक एकदिवसीय खेलमा ब्याट्सम्यानहरु नचल्दा नेपाल पराजित

काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय(ओडिआर्इ)मा नेपाल पराजित भएको छ। बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपनि ब्याट्सम्यानहरु नचल्दा नेपाल बुधबार नेदरल्याण्ड्ससँग ५५ रनले पराजित हुँदै डेब्यू ओडिआर्इमा विजयी सुरुवातको मानक जोड्न चुक्यो।

नेदरल्याण्डसले दिएको १ सय ९० रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमै सीमित रहेको थियो। नेपालका लागि ओपनिङ ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ५१ र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रन बटुले। अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

अनिल साह र ज्ञानेन्द्रको ओपनिङ जोडीले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। अनिल १३ ओभरको दोस्रो बलमा २१ रनमा आउट भए। त्यसपछि मैदान आएका कप्तान पारस खड्काले १२ रन भन्दा बढी जोड्न सकेनन्।

लगत्तै एकदिवसीय खेलमा नेपालका लागि पहिलो अर्धशतक प्रहार गरेका ज्ञानेन्द्र ५१ रनमा आउट भए। उनले ६१ बलमा ८ चौका प्रहार गरे। यहि ओभरमा आरिफ शेख शून्य रनमा आउट भए।

त्यसपछि लगातार विकेट गुमाएको नेपालका सोमपाल कामी, बसन्त रेग्मी र करण केसी पनि शुन्य रनमा आउट भए। सन्दीप लामिछाने १ रनमा आउट हुँदा शरद भेषवाकर ४ रनमा आउट भए। शक्ति गौचन ९ रनमा अविजित रहे। शरद हातमा चोट लाग्दा एघारौं नम्बरमा ब्याटिङमा आएका थिए।

बलिङमा नेदरल्यान्ड्सका क्लासन, मिचेल रिप्पोन र पिटर सिलारले ३–३ विकेट लिए।

सम्बन्धित शिर्षकहरु