नेपाल टेलिकमको रिचार्ज कार्ड अब नमस्ते रिचार्ज ब्राण्डमा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ। कम्पनीले उपलब्ध गराउँदै आएको एनटी रिचार्ज कार्ड पनि बजारमा स्टक रहेसम्म प्रयोग गर्न सकिने भएपनि अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने टेलिकमले जनाएको छ। कम्पनीले ५०, सय, दुई सय, पाँच सय र एक हजार रुपैयाँ दरका नमस्ते रिचार्ज कार्ड उपलब्ध गराउने टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्।

टेलिकमको ल्यान्डलाइन वा मोबाइलबाट १४१५ वा १४१२ डायल गरी प्राप्त निर्देशन अनुसार नमस्ते रिचार्ज कार्डको पछिल्ला भागमा भएको १६ अंकको पिन कोड थिचेर कम्पनीका विभिन्न सेवाहरुमा रिचार्ज गर्न सकिने उनले बताइन्।

टेलिकमका अनुसार जीएसएम मोबाइलका ग्राहकहरुले स्टार ४१२ स्टारपछि पिन कोड र ह्यास्ट्रक डायल गरेर पनि रिचार्ज गर्न सकिन्छ। साथै नेपाल टेलिकमको मोवाइल एप तथा वेबसाइट (http://webrecharge.ntc.net.np) मार्फत पिन कोड प्रयोग गरी रिचार्ज गर्न सकिन्छ। टेलिकमले हाल रिचार्ज कार्ड वाहेक इलेक्ट्रोनिक रिचार्ज र एमपोस MPoS प्रयोग गरेर समेत रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ। बजारमा उपलब्ध रिटेलरहरु मार्फत यी सेवा प्रयोग गर्न सकिन्छ।

यसैबीच नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकहरुलाई पनि रोमिङ सेवा प्रदान गर्ने भएको छ। यस अघि पोष्टपेड ग्राहकलाई मात्र अन्तराष्ट्रिय रोमिङ सुविधा दिँदै आएकोमा अबका दिनमा प्रिपेड ग्राहकलाई पनि सो सुविधा दिन लागिएको टेलिकमले जनाएको छ।

सम्बन्धित शिर्षकहरु