काठमाडौं । उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबलको उपाधि विभागिय टोली एपिएफले उचालेको छ। फाइनल खेलमा एपिएफले अर्को विभागीय टोली नेपाल आर्मी क्लबलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको हो।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको कृतिम मैदानमा मंगलबार भएको लिगको अन्तिम खेलमा जित किाल्दै एपिएफले १२ अंक जोड्यो। एपिएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक पुरा गरिन्। सुस्त शुरुवात भएपनि सावित्राले खेलको ४१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
पहिलो हाफमा १-० को अग्रता बनाएको एपिएफले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो। आर्मीका लागि पुनम जर्घा मगरले ४९ औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन्। तर, गोल मेसिनका रुपमा परिचित सावित्राले ५४ औं मिनेटमा अर्को गोल गर्दै एपिएफलाई पुनः २-१ को अग्रता दिलाइन्। खेलको ८२ औं मिनेटमा सावित्राले ह्याट्रिक गोल गर्दै एपिएफलाई ३-१ को जित दिलाइन् । उनको यो लि गमा तेस्रो ह्याट्रिक हो।
तीन ह्याट्रिकसँगै सावित्राले लिगमा आफ्नो गोल सङ्ख्या १२ पुर्याइन। सावित्राले यसअघि रौतहटविरुद्ध ४ गोल र काठमाडौंविरुद्ध ५ गोल गरेकी थिइन् । च्याम्पियन बनेसँगै एपिएफले २ लाख रुपैया प्राप्त गर्दा उपविजेता बनेको आर्मीले १ लाख र तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैया प्राप्त गर्यो।








