२१ औं विश्वकपको उपाधिको उपाधि भिडन्त आज,कसले उचाल्ला ट्रफी ?

काठमाडौं ।  विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् ।

२१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ ।

फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोहोर्‍याउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । अहिले उनै डिडियरले टोलीको प्रशिक्षण सम्हालेका छन् । डिडियर फ्रान्सलाई प्रशिक्षकका रूपमा पनि उपाधि दिलाउन चाहन्छन् । ‘फाइनल जित्ने टोलीको दृढता बलियो छ । हाम्रो रक्षा, मध्य र अग्रपंक्ति सन्तुलित छ । हामीले एउटै कुरा देखेका छौं, त्यो हो उपाधि । त्यसका लागि हामी उत्कृष्ट फुटबल खेल्दैछौं’, डिडियरले भनेका छन् । फ्रान्स टोली इतिहासकै बलियो भएको पनि डिडियरले दाबी गरे ।

यसैगरी पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो । पहिलो सहभागितामै क्रोएसियालाई फ्रान्सले सेमिफाइनलमै २–१ गोलले पराजित गर्‍यो । त्यसैले विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ । अन्नपूर्ण पोस्टबाट ।

सम्बन्धित शिर्षकहरु