२५ वर्षीय युवालाई मन्त्रीको जिम्मेवारी,को हुन् सैयद साद्दिक ?

एजेन्सी । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो मन्त्रिमण्डल विस्तारका क्रममा एकजना २५ वर्षीय युवालाई शिक्षा मन्त्रीको जिम्मेवारी दिएका छन्। २५ वर्षीय युवा सैयद साद्दिक अब्दुल रहमानलाई प्रधानमन्त्री मोहम्मदले सोमबार युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् । उनको जन्म १९९२ डिसेम्बर ६ मा भएको हो । युवा अवस्थामै राजनीतिमा लागेका उनले महाथिरको मन्त्रिमण्डलमा युवा तथा खेलकूद मन्त्रीको जिम्मेवारी पाएका छन् । उनी मलेसिएन युनाइटे इन्डिजेनियस पार्टीका युवा प्रमुख पनि हुन् । मलेसियाको स्वतन्त्रतापछि सबैभन्दा कान्छो संघीय मन्त्रीको रुपमा उनले रेकर्ड बनाएका छन् ।

उनले कानुनमा स्नातकोत्तर सकेका छन् । उनले विद्यार्थीकालमा एसिएन ब्रिटिश संसदीय वादविवाद प्रतिष्पर्धामा एसियाकै सर्वोत्तम वक्ताको उपाधि तीनपटकसम्म जितेका थिए । उनले राजनीतिमा लाग्नको लागि २०१७ मा लाखौं रकमको अक्सफोर्ड युनिभर्सिटीको छात्तवृत्ति त्यागेका थिए । छात्रवृद्धि त्यागेको एक वर्षपछि उनी सांसदमा निर्वाचित भए । यसपटक भने उनले सार्वजनिक नीतिमा स्नातकोत्तर गर्ने अक्सफोर्ड युनिभर्सिटीको अर्को छात्रवृत्ति त्यागे ।

उनी २०१६ देखि पार्टीको प्रवक्ताको भूमिकामा पनि छन् । मलेसियाको निर्वाचनबाट केही दिनअघि निर्वाचित प्रधानमन्त्री डा महाथिर महम्मदले सरकार विस्तार गरेसँगै उनले मन्त्रीको जिम्मा पाएका हुन् । उनको मन्त्रीमण्डलमा २५ वर्षिय युवाले युवा तथा खेलकुद मन्त्रालय पाएका छन् । यसअघि मंगलबार पक्राउ परेका मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रज्जाकले पनि २५ वर्षकै उमेरमा उपमन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । उनी सन् १९७८ मा ऊर्जा, दूरसञ्चार तथा पोस्ट उपमन्त्री भएका थिए । सैयद सद्दिक भन्दा अघि सन् २०१३ मा खैरी जमालुद्दिन ३७ वर्षको उमेरमा क्याबिनेट मन्त्री बनेका थिए । तर यो रेकर्डलाई सैयद सद्दिकले तोडिदिएका छन् ।

सैयद सद्दिक आगामी डिसेम्बरमा २६ वर्षको पुग्नेछन् । उनले मन्त्री बनेपछि मलेसिएन युवाहरुको आवाज र विचारको प्रतिनिधित्व भएको बताएका छन् । ‘यो नियुक्तिसँगै युवाहरुको लागि भविष्यमा आफ्नै खुट्टामा उभिनको लागि नयाँ अवसरहरु खुल्नेछन्,’ उनले भने, ‘युवाहरु भविष्यका नेता मात्र होइन, वर्तमानकै हुन् ।’ उनले युवाको संस्कार र दृष्टिकोण परिवर्तन गर्न चाहेको बताए । उनले देश विकासको एजेन्डामा युवालाई केन्द्रित गर्ने पनि आफ्नो ध्येय रहेको बताए ।

सम्बन्धित शिर्षकहरु