काठमाडौं । भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरले गत बुधवार जुम्म काश्मीरमा शाहदत प्राप्त गरे । भिडिन्तमा शाहदत पाएका थापामगरको अन्त्यष्टी पनि भारतीय संस्कारअनुसार भारतमै गरियो । परिवारका सदस्यहरुले शव नेपाल लिन माग गर्दापनि भारतले दिन मानेन् परिवारका सदस्यहरुलाई बोलाएर गंगातिरको अन्त्यष्टी गरियो ।
अर्जुन थापामगर मात्र हैन, भारतीय सेनामा कार्यरत नेपालीहरुको मृत्युभए उनीहरुको शव नेपाल ल्याउन पाइदैन । भिडन्त वा कुनै दुर्घटनामा मृत्युभए उनीहरुको शवमा नेपाली होइन भारतीय झण्डा ओडाउने गरिन्छ । झण्डा ओडाउन र राष्ट्रिय सम्मान गर्न भारतले शव ल्याउन दिँदैन । भारतको यो नियमलाई बदल्न भूतपूर्व गोर्खा सैनिकहरुले दुवै देशका सरकारसँग माग गरेका छन् ।
‘हामी जहाँ जन्मियौ, त्यहाँ मर्न पाएनौ तर अन्त्यष्टी जन्मिएकै ठाउँमा होस्’ भूतपूर्व गोर्खा सैनिकहरुले भारत सरकारसँग यस्तो माग गरेका छन् । तर भारतले राष्ट्रिय झण्डा र भारतको राष्ट्रिय सम्मान नेपालमा दिन नसकिने जवाफ दिएको छ ।
गोर्खा सैनिकको मृत्यु भए, त्यसको पीडा भारतभन्दा नेपालमा हुन्छ । भारतकै लागि ज्यान गुमाउने गोर्खा सैनिकले मृत्युमा पनि आफ्नो जन्मभूमि देख्न पाउँदैनन् । पीडामा परेका परिवारलाई भारतमै बोलाएर अन्त्यष्टी गरिन्छ भने चिनो स्वरुप भारतीय झण्डा दिइन्छ ।
‘शव नै नेपाल ल्याउन नदिनु पीडित परिवारमाथी थप पीडा दिनु हो’ संयुक्त भूतपूर्व सैनिक एवम् प्रहरी कल्याणकारी महासंघ नेपालका महासचिव कुलबहादुर केसी ले भने ‘जन्मभूमिमै अन्त्यष्टीका लागि हामीले बारम्वार भारत सरकारसँग माग गरेका छौ तर सुनुवाई भएको छैन ।’
दुई महिनाअघि भूतपूर्व सैनिकहरुको एक टोलीले भारत सरकारसँग केही मागहरु राखेको थियो । राखिएका मागमा यो माग पनि समावेश थियो । तर भारतीय गृहमन्त्री अमित शाहले यस बिषयमा अध्ययन गर्ने आश्वासन मात्र दिएको उनीहरुले बताएका छन् ।
गोर्खा रिजिमेन्टका सैनिकहरुको निधन भए उनीहरुको शव नेपाल ल्याउन नेपाल सरकारको अनुमति चाहिन्छ । नेपाल सरकारले पनि सजिलै अनुमति दिने गरेको छैन । शव नेपाल ल्याउने ब्यवस्थालाई सजिलो बनाउन भूतपूर्व गोर्खा सैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । ओलीले यस बिषयमा भारतीय पक्षसँग सल्लाह गर्ने बताएका छन् ।
भारतीय सेनाका सूप्रिमो विपिन राउतले शव नेपाल पठाउन नसकेपनि नेपाल नजिकको सेनाको क्याम्पमा पठाउने आश्वासन दिएको केसीले बताए । केहीसहित ७ जनाको टोलीले राउत र भारतीय गृहमन्त्री अमित शाहलाई भेटेका थिए । भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत केही अफिसरहरुले पनि शव नेपाल पठाउने ब्यवस्था गर्न भारतीय सेना प्रमुख र गृहमन्त्रीलाई आग्रह गरेका छन् ।
पीडित परिवारलाई भारत बोलाउनुभन्दा शव नै नेपाल पठाउँदा केही राहत हुने उनीहरुले बताएका छन् । तर गोर्खा रेजिमेन्टको आग्रहमा भारत सरकारले कुनै निर्णय भने गरिसकेको छैन ।







