पोर्चुगल र इरान बराबरी,रोनाल्डो पेनाल्टीमा चुके

काठमाडौं । समूह चरणको अन्तिम खेलमा पोर्चुगल र इरानले बराबरी खेलेको छ । पोर्चुगल इरानसँग १-१ को बराबरी खेल्दै उपविजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा इरानले १-१ गोलको बराबरीमा रोकेपछि पोर्चुगल ५ अंकसहित समूह ‘बी’ बाट उपविजेताको रुपमा नकआउट चरणमा स्थान पक्का गरेको हो।

मोर्डोभिया एरिना रंगशालमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न नसक्दा पोर्चुगल बराबरीमा रोकियो। खेलको ५३ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा प्राप्त पेनाल्टीमा रोनाल्डोले गोल गर्न सकेनन्। रोनाल्डोको प्रहार इरानी किपर एलिरिजाले बचाएका थिए।

इरानविरुद्ध पेनाल्टीमा गोल गर्न नसके पछि गोल्डेनबुटका दाबेदार रोनाल्डोले इंग्ल्यान्डको ह्यारी केनसँग ५-५ गोलको बराबरी गर्ने मौका गुमाएका छन्। रोनाल्डोले अहिलेसम्म ४ गोल गरेका छन्।

रोनाल्डो पेनाल्टीमा चुक्नुअघि रिकार्डो क्वारिष्माको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको ४५ औं मिनेटमा क्वारिष्माले उत्कृष्ट गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए थिए। तर, खेलको इन्जुरी समयमा इरानका करिम अन्सारीफ्रेडले पेनाल्टीमा गोल गर्दै खेल १-१ गोलको बराबरीमा ल्याएका थिए।

यस्तै इरान भने ४ अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित शिर्षकहरु