एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) २०१८ को पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै चेन्नई सुपर किंग्स फाइनलमा पुगेको छ । चेन्नईका ब्याट्सम्यान डू प्लेसिस र शादुल ठाकुरले विस्फोटक ब्याटिङ गर्दै अन्तिममा चेन्नईलाई जिताएका हुन् । १४० रनको लक्ष्य पक्षाएको चेन्नाईले फाफको अविजित अर्धशतकको मद्धतमा १९ दशमलब एक ओभरमा आठ विकेट गुमाएर जित दर्ता गराउँदै फाइनलमा प्रवेश गरेको हो ।
१४० रनको मध्यम योगफल पक्षाएको चेन्नाईले एक पछि अर्को विकेट गुमाउँदै हार तर्फ लम्कि रहेको थियो । तर ओपनिङमा आएका फाफले अन्तिम सम्म ब्याटिङ गर्दै ४२ बलमा पाँच चौका र चार छक्का प्रहार गर्दै अविजित ६७ रन बनाए । उनी बाहेक सुरेश रैनाले २२ तथा दशौं नम्बरमा ब्याटिङ गर्न आएका शार्दुल ठाकुरले पनि पाँच बलमा अविजित १५ रन जोड्दै चेन्नाईको जितमा महत्वपुर्ण योगदान दिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर १३७ रनको सानो योगफल तयार पाऱ्यो ।
शुरुवात देखी नै एक पछि अर्को विकेट गुमाएको हैदारबादको लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका कार्लोस ब्राथवेटले २९ बलमा एक चौका र चार छक्काको मद्धतमा ४३ रन बनाउँदै आफ्नो टोलीलाई सम्मानजनक योगफल तर्फ लगेका थिए ।
ब्राथवेट बाहेक कप्तान केन विलियमसन र युसुफ पठानले समान २४ रनको पारी खेले । त्यस्तै श्रीभत्स गोस्वामी र शाकिब अल हसनले समान १२ रनको योगदान दिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हैदराबादलाई मध्य स्कोरमा रोक्ने क्रममा ड्वायन ब्राभोले सर्वाधिक दुई विकेट लिए भने दिपक चाहार, लुङ्गी एनगिदी, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले समान एक विकेट आफ्नो नाममा दर्ता गराए ।








