एजेन्सी । नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको टिम दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा खराब प्रदर्शन जारी राखेको छ । दिल्ली सोमबार राति घरेलु मैदानमै किंग्स इलाभेन पन्जाबसँग ४ रनले पराजित भएको छ ।
दिल्लीस्थित फिरोज साह कोट्ला स्टेडियममा पन्जाबले दिएको १४४ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि श्रेयस आयरले ५७ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
यस्तै दिल्लीका राहुल टेवाटियाले २४, पृथ्वी पंकजले २२ र ग्लेन म्याक्सवेलले १२ रन जोडे । दिल्लीलाई कम स्कोरमा रोक्न पन्जाबका मुजिब उर रहमान, अंकित राजपुत र एन्ड्रयु टेले समान २ – २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १४३ रन जोडेको थियो । विस्फोटक ब्याट्सम्यान क्रिस गेलबिना मैदान उत्रेको पन्जाबको लागि करुण नायरले ३४, डेभिड मिलरले २६ तथा लोकेश राहुलले २३ रन जोडे । यस्तै मायांक अग्रवालले २१ रन जोड्दा युवराज सिंहले १४ रन जोडे ।
दिल्लीका लिआम प्लुंकेटले ३ विकेट लिदा आभेस खान र ट्रेन्ट बोल्टले समान २ – २ विकेट लिए । दिल्लीको लिगमा यो छैटौं खेलमा पाँचौ हार हो । लिगमा मात्र २ खेल जितेको दिल्ली लिगको पुछारमा रहेको छ । यता, पन्जाबको यो पाँचौ जित हो । पन्जाब ६ खेलबाट ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा समेत उक्लिएको छ । पन्जाबले ८ अंक जोडेको चेन्नई सुपर किंग्सलाई पछि पारेको हो । यो हारसँगै दिल्लीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।








