सर्वोच्च अदालतको आदेशमा छुटेका सुनबहादुर फेरि जेल चलान

काठमाडौं । सर्वोच्च अदालतको आदेशमा छुटेका नुवाकोट दुप्चेश्वर गाउँपालिका १ का वडा अध्यक्ष सुनबहादुर तामाङ पुन जेल चलान भएका छन्। नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडाध्यक्ष तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा भए लगत्तै फेरि पक्राउ परेका थिए । नुवाकोट जिल्ला अदालतको फैसलाअनुसार अर्को मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई आइतबार जेल चलान गरेको हो।

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको थियो । तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेको थियो । उनीविरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसार–पसार मुद्दा दर्ता भएको थियो ।

प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए । १० वर्षभन्दा कम सजा हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र दुई लाख ५० हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सम्बन्धित शिर्षकहरु