काठमाडौं । प्रहरीले पाँच दिनको अवधिमा झन्डै २७ करोड रुपैयाँ मूल्यबराबरको नौ किलो अवैध लागुऔषध कोकिन बरामद गरेको छ । छोटो अवधिमा बरामद यो अहिलेसम्मकै ठूलो परिमाणको लागुऔषध हो ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो कोकिन बरामद गरेको थियो । सोही ठाउँबाट ब्युरोले शनिबार पुनः ६ किलो कोकिन बरामद गरेको छ ।
बरामद कोकिनको अन्तर्राष्ट्रिय बजारमा अवैध मूल्य झन्डै २७ करोड रुपैयाँ पर्छ । प्रहरीका अनुसार उत्पादन अत्यधिक बढेकाले पछिल्लो अवधिमा कोकिन प्रतिग्राम ३० हजार रुपैयाँमा बिक्री हुँदै आएको छ ।
ब्युरो प्रमुख डिआइजी दिनेश अमात्यले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी बढेको बताए । ‘केही दिनअघि तीन किलो कोकिन बरामद भयो, अहिले ६ किलो भेटिएको छ । यी घटनाले नेपालको बाटो हुँदै अन्तर्राष्ट्रिय बजारमा कोकिन तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको पुष्टि हुन्छ,’ उनले भने ।








