काठमाडौं । नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो– केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन्।
संविधान जारी भएपछि सरकारको नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, ‘नयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ।’
२०७२ असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएपछि त्यसप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । पाँच महिनापछि भारतले नाकाबन्दी हटायो र तत्कालीन ९हालका पनि० प्रधानमन्त्री ओलीले सन् २०१६ फेब्रुअरी १९ देखि २४ सम्म भारत भ्रमण गरे । भ्रमण जानुअघि उनले त्यही भनेका थिए जुन अहिले भनिरहेका छन्।
ओलीपछि प्रधानमन्त्री बनेका दाहालले आफ्नो कार्यकालमा दुईपटक भारत भ्रमण गर्ने अवसर पाए । पहिलो भ्रमण उनले सन् २०१६ सेप्टेम्बर १५ देखि १८ र दोस्रो भ्रमण सोही वर्षको अक्टोबर १५ देखि १६ सम्म गरेका थिए । एक महिना अवधिमा दुईपटक भारत पुग्दा दाहालले पनि भारतसँग नयाँ सम्झौता नहुने र पुराना सन्धिसम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिने बताएका थिए।
दाहालपछि प्रधानमन्त्री भए नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । देउवाले सन् २०१७ अगस्ट २३ देखि २७ सम्म भारत भ्रमण गरेका थिए । उनले पनि भारत जानुअघि नयाँ सन्धिसम्झौतामा भन्दा यसअघि भएका सन्धिसम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिने बताएका थिए।
तीनवटै प्रधानमन्त्रीले जानुअघि कुनै सन्धिसम्झौता नगर्ने बताए पनि नयाँदिल्ली पुगेपछि ३–४ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गरेरै फर्केका छन् । उनीहरुले भनेझैं वर्षौैंअघि सम्झौता भएर अड्केका सन्धिसम्झौताको समीक्षा पनि भएको छ । यस्ता केही समझदारी तथा सम्झौता केहीलाई समयसीमा तोकेरै अघि बढाउने कुरा ‘नेपाल–भारत संयुक्त विज्ञप्ति’ समेटिएका पनि छन् । तर कार्यान्वयन सधै उस्तै– व्यवहारमा काम कहिल्यै अघि नबढ्ने।
नेपाल–भारतबीच यति धेरै सन्धिसम्झौता भएका छन्, जसको कार्यान्वयन पक्ष हेर्ने हो भने निकै फितलो देखिन्छ । दुई देशका प्रधानमन्त्री तहमा ती विषयमा कुराकानी हुँदा पनि तिनको कार्यान्वयन हुन सकेको छैन । नागरिक दैनिकबाट ।








