ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने

काठमाडौँ। स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । ठेक्कापट्टामा लागेकाहरूलाई स्थानीय चुनावमा उम्मेदवार हुन नपाउने भएका छन।निर्वाचन आयोगले स्थानीय तह चुनावमा ठेकेदारहरूलाई उम्मेदवार हुन कडाइ गरेको छ। आयोगले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको छ। ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चलअचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नभएको’ उम्मेदवारले स्वघोषणा गर्नुपर्ने हुन्छ।

उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा पत्र पनि पेश गर्नुपर्ने आयोगले बताएको छ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो । ‘आयोगले संविधान तथा निर्वाचनसम्बन्धी प्रचलित कानुनी व्यवस्थासमेतको आधारमा स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने प्रचलित कानुनबमोजिम योग्यता पुगेको कुनै पनि व्यक्तिले मनोनयन दर्ता गर्द स्वघोषणा गर्नुपर्ने र आफूले गरेको स्वघोषणाप्रति उम्मेदवार स्वयम जिम्मेवार हुनुपर्ने नयाँ व्यवस्था गरेको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारको मनोनयनपत्र साथ पेश गर्नुपर्ने स्वघोषणा पत्रमा विभिन्न बुँदा समेट्नुपर्नेछ।’

नेपालको संविधानप्रति निष्ठावान् रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक, गाउँ वा नगरमा मतदाता नामावलीमा नाम भएकोलगायत स्वघोषणा गर्नुपर्नेछ।

साथै सरकारी संस्थामा बाहल नरहेको, प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक निर्वाचन प्रणालीमा नाम नरहेको पनि स्वघोषणा गर्नुपर्ने आयोगको भनाइ छ।

बैठकपछि आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र साथ पेस गर्नुपर्ने स्वघोषणाका बुँदाहरुसमेत सार्वजनिक गरेको छ । जसमा नेपालको संविधानप्रति पूर्ण निष्ठावान रहेको, २१ वर्ष पूरा भएको नेपाली नागरिक भएको, सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको, सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको लगायत छन् । [Ausnepalnews:Kathmandu]

सम्बन्धित शिर्षकहरु