एजेन्सी । बल टेम्पिरिङ विवादमा परेका स्टिभ स्मिथ र डेभिड वार्नरमाथि एक वर्षे प्रतिबन्ध लागेको छ । साथै क्यामरुन बेनक्राफ्टमाथि ९ महिना प्रतिवन्ध लगाइएको छ । अष्ट्रेलियाको क्रिकेट संघले यी तीन खेलाडीमाथि प्रतिबन्ध लगाएको हो । दक्षिण अफ्रिकाविरुद्ध केपटाउनमा भएको तेस्रो टेष्टका क्रममा अष्ट्रेलियाका बेनक्राफ्टले बल टेम्पिरिङ गरेका थिए । यसबारे आफूसहित लिडरसिप टिमलाई पूर्व जानकारी रहेको स्मिथले स्वीकार गरेका थिए ।
क्रिकेट अष्ट्रेलियाले कारवाही स्वरुप तीन खेलाडीलाई घर फिर्ता बोलाएको छ । तर यो प्रकरणमा संलग्न नरहेका प्रशिक्षक ड्यारेन लेम्यानलाई भने कुनै कारवाही नगरिने क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सथरल्याण्डले स्पष्ट पारेका छन् ।
यो विवाद सार्वजनिक भएसँगै स्मिथ र वार्नरलाई कप्तान र उपकप्तानबाट हटाइएको छ । साथै तीनै जनाले अष्ट्रेलियाले टुरबाट फिर्ता बोलाएको छ । जोहानेसबर्गमा हुने चौथो टेस्टमा प्रतिबन्ध लागेपछि क्रिकेट अष्ट्रेलियाले तीन नयाँ खेलाडीलाई टेस्ट टिममा समावेश गर्ने भएको छ ।
‘यो घटना खेलको भावना विपरित भएको हो जुन क्रिकेट अष्ट्रेलियाका लागि खराब दिन थियो ।’ सथरल्याण्डले भने । स्मिथको कारवाहीपछि विकेटकिपर टिम पाइनेले बाँकी खेलमा कप्तानको भुमिका निर्वाह गर्नेछन् । तीन खेलाडीको स्थानमा म्याथ्यु रेन्श, ग्लेन म्याक्सवेल र जो बर्नलाई टिममा बोलाइएको छ । ‘क्रिकेटलाई माया गर्ने सबैप्रति क्रिकेट अष्ट्रेलियाका तर्फबाट माफी माग्दछु । घटनाको सम्बन्धमा अनुसन्धान जारी छ ।’ सथरल्याण्डले थपे ।
दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा क्यामरन बेनक्रफ्टले पहेँलो टेप निकालेर बललाई टेम्परिङ गराएको टिभी क्यामराले प्रत्यक्ष देखाएको थियो । यो घटनाबारे जानकार रहेका कप्तान स्मिथ र उपकप्तान वार्नरले समेत आचार संहिताको उलङ्घन गरेको ठहर क्रिकेट अष्ट्रेलियाको छ ।








