दुग्ध विकास संस्थान सत्तारुढ घटककै अगुवाइमा डुबानमा पर्न लागेको छ । संस्थानमा उत्पादित दही, चिज, मखन, दूध तथा पनिरलगायत मिष्ठान्नसमेत चोरेर बेच्ने तथा काउण्टरबाट बिक्री गरिएका सामानको समेत लाखौं हिनामिना गर्नेहरूमा एमालेका संगठित सदस्यहरूको बाहुल्य छ । सो संस्थानमा एमालेका पार्टी सदस्यहरूले दुग्ध विकास संस्थान कर्मचारी संघ नेपाल खोलेका छन् । यसमा वर्षौंदेखि आबद्ध प्रेम पराजुली एमाले पार्टी सदस्य पनि हुन् । उनले एमाले भएबापत बदमासी गर्ने ठाउँमा बसी कमाएको पैसाबाट पार्टीलाई चन्दा र लेबी पनि बुझाउँदै आएका छन् । प्रभावशाली पार्टी एमालेको सदस्य र पार्टीसम्बद्ध संघको समेत सदस्य भएका नाताले उनी सधैं पैसा कमाउने र संस्थानका उत्पादन चोरी गरी बेच्न सक्ने ‘आकर्षक’ ठाउँमा बस्दै आएका छन् ।
अहिले संस्थान व्यवस्थापनले प्रेमले ३४ लाख मात्र हिनामिना गरेको भनी कममा त्यतिचाहिँ तिर्नै पर्ने भनी सार्वजनिक गरेको छ । यसैगरी, एमालेकै अर्का संगठित सदस्य छविलाल आलेले पनि प्रेमकै बाटो अवलम्बन गरी संस्थानका आकर्षक ठाउँमा बसी लाखांै ठगी र चोरी गरेका प्रमाणित भइसकेको छ । तर, उनलाई व्यवस्थापनले जम्मा १८ लाख मात्र तिर्न ताकेता गरेको छ । एमालेकै अर्का सदस्य अर्जुन पन्थी त झन् उत्पादित वस्तुका गुणस्तर हेर्ने प्रमुखसमेत हुन् । संस्थानले उत्पादन गरेका दूध, दही, मोही, आइसक्रिम, मिठाई, चिज, पनिर आदि गुणस्तरयुक्त छन् कि छैनन् भनी परीक्षण गर्ने अर्जुनले आफूले भने कहिल्यै नैतिकताको गुणस्तर पालना गरेनन् । एमालेसम्बद्ध संघमा समेत आबद्ध उनले शुरुदेखि नै संस्थानको लाखौं हिनामिना गर्दै आए ।
अहिले उनले कममा पनि ११ लाखचाहिँ संस्थानको रकम भ्रष्टाचार गरेको खुलेको छ । यस्तै काण्डमा माओवादी पार्टी सदस्य सुवास राई पनि संलग्न छन् । सुवास त संस्थान केन्द्रीय कार्यालयमा रहेको राष्ट्रिय कर्मचारी संगठन नेपाल, दुग्ध विकास संस्थानका अध्यक्ष पनि हुन् । यो माओवादी पार्टीको भ्रातृ संगठन हो । सुवास आफैं संगठनको अध्यक्ष भएर पनि उत्पादित सामग्री चोरेर बेच्ने र तथा काउण्टरबाट बिक्री भएका सामानको लाखौं हिनामिन गर्ने प्रमुख बदमासमध्येका एक हुन् । उनलाई व्यवस्थापनले हिनामिनाको धेरै लाख रकम छुट गरेर पनि ८ लाख १३ हजार बुझाउन उर्दी जारी गरेको छ ।
आजको जनआस्था साप्ताहिक लेख्छ – कांग्रेस सदस्यहरूको संलग्नताबिना त मुलुकमा भएका कुनै पनि भ्रष्टाचार र बदमासीका घटना पूरा नै हुँदैनन् भन्ने मान्यता यस संस्थानमा भएको करोडौंको घोटालामा उनीहरूको संलग्नताले पुष्टि गर्छ । विनोद शर्मा कांग्रेसनिकट नेपाल कर्मचारी संघ, दुग्ध विकास संस्थानको केन्द्रीय कोषाध्यक्ष भएका कर्मचारी हुन् । उनी पनि उत्पादित वस्तु चोरेर र बिक्री भएका सामानको रकम हिनामिना गर्ने प्रमुख पात्र हुन् । उनले गरेका लाखौंको भ्रष्टाचारमा सकेसम्म छुट दिएर पनि १२ लाख १७ हजार तिर्नै पर्ने भएको छ । आफूलाई ठूलो नेता सम्झने र कांग्रेसका गगन थापासम्मको नाम लिएर संस्थान हल्लाउने वृषबहादुर भुजेल संस्थानको आधिकारिक ट्रेड युनियनको निर्वाचित सदस्य पनि हुन् । उनी नेकानिकट संघको केन्द्रीय कार्यालयको अध्यक्षसमेत बनेका छन् ।
तर, जो अगुवा उही बाटो फोहोर गर्ने भनेझैं यी पनि नेता बनी कम्बल ओढेर संस्थानको घ्यू, दही दूध, पनिर हसुर्नेमा पर्छन् । यिनले पनि थुप्रै लाख हिनामिना गरे तर व्यवस्थापनको माया पाएका कारण जम्मा ३ लाख ६३ हजार मात्र तिरेर उन्मुक्ति पाउने भएका छन् । यहाँ मात्र होइन कांग्रेस, एमाले तथा माओवादीका नाममा कर्मचारी संघ वा संगठन खोलेर नेता बनी यसैका प्रभावमा अनैतिक तरिकाबाट व्यक्तिगत लाभ लिनेहरूको ठूलो समूह नै रहेको सामान्य प्रशासन मन्त्रालयका एक सहसचिव बताउँछन् । भ्रष्टाचारविरुद्ध लड्ने प्रधानमन्त्रीको उद्घोष पहिलो चरणमा आफ्नै पार्टी सदस्यका आवरणमा रहेका भ्रष्टविरुद्ध शुरु हुनुपर्ने पनि ती सहसचिव बताउँछन् ।








