काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आपिएलपछि क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेटमा पनि खेल्ने भएका छन् । गएराती लन्डनमा भएको अक्सनमा सन्दीपलाई सिपिएलको टिम सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सले किनेको हो । सन्दीपले कुनै न्युनतम मुल्य नतोकेका कारण उनलाई ५ हजार डलरमा प्याट्रियट्सले आफ्नो टिममा लिएको हो ।
पहिलो पटक सिपिएल क्रिकेटको ड्राफ्टमा परेका सन्दिपलाई नेभिस पेट्रियट्सले ५ हजार अमेरिकी डलरमा क्लबमा भित्राएको हो । योसँगै सन्दिप सिपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छ । पेट्रियट्समा सन्दिपले वेष्ट इन्डिजका क्रिस गेल, कार्लोस ब्राथवेट, जिम्बाबेका ग्रेम क्रिमर जस्ता खेलाडीसँग नेट शेयर गर्ने छन् ।
वेष्ट इण्डिज क्रिकेट बोर्डले आयोजना गर्ने सिपिएल क्रिकेट आगामी ८ अगस्टदेखि सुरु हुने छ । सिपिएल क्रिकेटमा यो सिजन ६ टोलीको सहभागिता रहेको छ । यो सिजनको सिपिएल क्रिकेटको लागि २२७ जना विदेशी खेलाडी पहिलो ड्राफ्टमा रहेका थिए ।
यो बर्ष सन्दिप दोस्रो ठुला प्रतियोगिताको लागि छनोट भएका हुन् । यसअघि सन्दिप यसै सिजनको लागि इन्डियन प्रिमियर लिग (आईपिएल) मा आबद्द भएका थिए । आईपिएलको अक्सनबाट सन्दिपलाई दिल्ली डेयरभिल्सले २० लाख भारुमा किनेको थियो ।
यू – १९ क्रिकेट टोलीमा पुर्व कप्तानसमेत रहेका सन्दिप हाल आइसीसी विश्वकप छनोटको लागि नेपाली टोलीसँग जिम्बाबेमा रहेका छन् । यो बर्ष निकै उत्कृष्ट बलिङ गरिरहेका सन्दिपले नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा सर्वा्धिक १७ विकेट लिदै म्यान अफ दि सिरिज समेत बनेका थिए ।








