काठमाडौं । साझा यातायातले देशमै पहिलोपटक अपाङ्गमैत्री बस ‘सेमी लो फ्लोर’ सञ्चालनमा ल्याउने भएको छ । अपाङ्गता भएका व्यक्तिका लागि अपाङ्गमैत्री बस सञ्चालनमा ल्याउन लागेको हो । यो बस काठमाडौं भने आइपुगिसकेको छैन । साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले बस रक्सौल नाकामा आइपुगेको र भन्सारको सम्पूर्ण प्रकृया पूरा गरेर यो हप्ता भित्रै काठमाडौं आइपुग्ने बताए ।
अपाङ्गता, दृष्टिविहीन र बृद्धबृद्धाका लागि यो बस सजिलो हुने पाण्डेको भनाई छ । ४१ सिट भएको यो बसमा दुईवटा ढोका छन् । बसको पछिल्लो ढोकामा फोल्ड गर्न मिल्ने र्याम्प ९ह्वील चियर लैजान मिल्ने भर्याङ० भएकाले यो बस अपाङ्गता भएका नागरिकको लागि धेरै सजिलो हुनेछ ।
पाण्डेका अनुसार बस काठमाडौं आइपुगेपछि कार्यालयका प्राविधिकबाट जाँच गरेर रुट परमिट लिइ छिट्टै सञ्चालनमा ल्याइनेछ । अपाङ्गता भएकालाई मात्रै भने होइन बसमा सामान्य नागरिक पनि यात्रा गर्न सक्नेछन् ।
बसको ढोका होचो भएकाले यो बस खाल्डाखुल्डी भएको सडकमा चलाउन मिल्दैन । साझाले चार महिनाभित्र थप चार डिलक्स बस खरिदका लागि प्रकृया अघि बढाएको पाण्डेले जानकारी दिनुभयो ।
बसका विशेषताहरु
६ वटा पांग्रा भएको यस बसमा ४१ वटा सिट र दुईवटा ढोका छन् । पछिल्लो ढोकामा फोल्ड गर्न मिल्ने र्याम्प ९ह्वील चियर लग्न मिल्ने भर्याङ० रहेको छ । यसका ढोकाहरु तल भएकाले पनि अपाङ्गाता, दृष्टिविहीन र बृद्धबृदालाई बसमा चड्न सहज हुनेछ । बसमा सीसीटीभी क्यामेरा र डिस्प्ले टिभी हुनेछ ।
यसमा चालकले बस पुगेको ठाउँबारे जानकारी दिन एनाउन्स सिस्टम रहेको छ । जुन दृष्टिविहीनहरुका लागि निकै सहज हुने पाण्डेको भनाई छ ।
पाण्डेका अनुसार बसको बजार मूल्य झण्डै एक करोड छ । तर, अशोक लेल्याण्डले सहुलियत रुपमा दिएपछि ३५ लाख रुपैयाँमा बस काठमाडौं आइपुग्ने पाण्डेले बताउनुभयो ।
बस यातायात कार्यालयबाट माग भएका रुटमा सञ्चालन गरिनेछ । यातायात कार्यालयले लगनखेल–चापागाउँ रुट, लगनखेल,सातदोबाटो, हरिसिद्धि, ठैव हुँदै गोदावरी र लगनखेल, ग्वार्कोचोक, सानोगाउँ, लुभु, लामाटार र लगनखेल, रत्नपार्क, महाराजगञ्ज, सामाखुसी, चक्रपथ, ग्रान्डी अस्पताल हुँदै टोखा रुटमा माग गरेको पाण्डेले बताउनुभयो । सडक विस्तार भए छिट्टै यो रुटमा बस सञ्चालन गर्ने पाण्डेको भनाई छ । अहिले साझाका ४६ वटा बस सञ्चालनमा छन् ।








