काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसको पुरुषतर्फको उपाधि स्वीस स्टार रोजर फेडेररले जितेका छन् । साविक विजेता फेडेररले क्रोएसियाका मरिन सिलिकलाई हराउँदै करियरको २०औं ग्राण्डस्लाम उपाधि हात पारेका छन् । छैठौं वरियताका सिलिक विरुद्ध ३–२ सेटको कठीन जित निकाल्दै फेडेररले छैठौं अष्ट्रेलियन ओपनको उपाधि जितेका हुन् ।
मेलबर्नमा भएको फाइनलमा पहिलो सेट ६–२ को सहज जित निकालेका थिए । तर दोस्रो सेटमा भने उनी पराजित भए । टाई ब्रेकरमा धकेलिएको दोस्रो सेटमा फेडेरर ६–७ ले हारेका थिए । तेस्रो सेटमा फेडेररले कमब्याक गर्दै ६–३ को जित निकाले । बेस्ट अफ फाइभको चौथो सेटमा फेरी सिलिक ३–६ ले विजयी भए ।
अन्तिम तथा निर्णायक सेटमा फेडेरर ६–१ ले विजयी हुँदै उपाधि रक्षा गर्न सफल भएका हुन् । एटीपी टेनिसमा सबैभन्दा सफल खेलाडी रोजर फेडेररको करियरको यो ९६औं उपाधि हो ।








