काठमाण्डौ । नेपाल प्रहरीका पूर्व डिआईजी तथा नेकपा एमालेका तर्फबाट ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका सांसद नवराज सिलवालाई खोजी गर्न नेपाल प्रहरीले डिफ्यूजन नोटिस जारी गरेको छ ।
आइजीपी बढुवा सम्वन्धि कार्यसम्पादन मूल्यांकन किर्ते अभियोगमा सिलवाललाई बयानका लागि बोलाएको थियो । सिलवाल उपस्थित नभएपछि प्रहरीले उनलाई पक्राउ प्रयास गर्यो । लगातारको प्रयास असफल भएपछि प्रहरीले डिफ्युजन नोटिश जरी गरेको हो। डिफ्युजन नोटिस जारी भएपछि सिलवाललाई अब १९२ देशका प्रहरीले नै निगरानीमा राखेर फेला पारेमा नेपाल प्रहरीलाई खबर गर्न बाटो खुलेको छ ।
सिलवाललाई यस अघि महानगरीय प्रहरी परिसर काठमाण्डौले ललितपुर प्रहरीलाई पत्राचार गरी अनुसन्धानका लागी सोधपुछ गर्नुपर्ने भएकोले उपस्थित गराउन पत्राचार गरेको थियो । ललितपुर प्रहरी परिसरले पक्राउ प्रयास गरेपनि सफल हुन सकेन। त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गर्न निर्देशन दिएको थियो ।
सिलवालले आफू जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको भाइवर मार्फत एक अनलाइनलाई अन्तर्वार्ता दिएका थिए ।









