एजेन्सी । स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोना बराबरीमा रोकिएको छ । लिगको उपाधि लगभग पक्का गर्ने अवस्थामा पुगिसकेको बार्सिलोनाले सातौं बराबरी खेल्ने क्रममा सेभियासंग शनिबार राति २–२ को बराबरीमा रोकिन पुगेको हो ।
सेभियाले लिएको दुई गोलको अग्रतामा मेस्सी र स्वारेजले ८० सेकेण्डमा दुई गोल गरेपछि बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राख्न सफल भयो । ला लिगा तालिकामा बार्सिलोनाको ७६ अंक छ भने सेभिया ४६ अंकसहित छैटौं स्थानमा छ । रियल मड्रिडले लास पाल्मासलाई ३–० ले हरायो । जसमा ग्यारेथ बेलले दुई गोल गरेका थिए । २६ औं मिनेटमा लुका मोड्रिचको पासमा बेलले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
३९ औं मिनेटमा पाएको पेनाल्टीलाई करिम बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई २–० को अग्रता दिलाए । ५१ औं मिनेटमा रियलले अर्को पेनाल्टी पाउँदा ग्यारेथ बेलले गोल गरे ।









