काठमाडौं । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र ‘लिक’ गरेर चलखेल हुने गरेको खुलेको छ। प्रहरीले शुक्रबार यस्तो कार्यमा संलग्न १३ जनालाई पक्राउ गरेको छ महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रवार राति आईएलटीएस परीक्षाको प्रश्नपत्र लिक गराएको भन्दै १३ जना व्यक्तिलाई पक्राउ गरेको हो । उनीहरुले पैसा लिएर परीक्षाको अघिल्लो दिन नै प्रश्नपत्र विद्यार्थीलाई बिक्री गर्ने गरेको रहस्य खुलेको छ ।
शनिवार हुने आईएलटीएस परीक्षाको प्रश्नपत्र बिक्री गर्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको एक गेस्टहाउसबाट १३ जनालाई पक्राउ गरेको हो । पक्रउ पर्नेमा केही व्यक्ति काठमाडौंस्थित ब्रिटिस काउन्सिलका कर्मचारी र केही आईएलटीएसको परीक्षा दिने तयारीमा रहेका परीक्षार्थी रहेको महानगरीय प्रहरी परिसर काठमाडौं स्रोतले जनाएको छ ।
उनीहरुको साथबाट शनिवार हुने आईएलटीस परीक्षाको प्रश्नपत्र र केही नगद बरामद गरिएको प्रहरी स्रोतले लोकान्तरलाई बतायो ।
प्रहरीका अनुसार ब्रिटिस काउन्सिलका कर्मचारीले एक व्यक्तिबाट २० देखि ४० हजार रुपैयाँ लिएर आइएलटीएसको प्रश्नपत्र बिक्री गर्ने गरेका थिए । प्रहरीले यो प्रकरणमा अन्य व्यक्ति पनि संलग्न रहेको हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाएको छ ।








