व्यावसायिक विषयको रोजाइ अष्ट्रेलिया

नेत्र पण्डित -अष्ट्रेलिया । व्यावसायिक विषयको रोजाइ अष्ट्रेलिया पर्ने गरेको छ । केही वर्षअघिसम्म अमेरिका र बेलायतमा अध्ययन गर्ने सपना हुने गरेता पनि पछिल्ले समय विद्यार्थीको विदेश अध्ययनको गन्तव्य फेरिएको छ । अधिकांश विद्यार्थीहरू अष्ट्रेलिया गएर अध्ययन गर्ने सपना सजाउन थालेका छन् । वैदेशिक अध्ययनको प्रमुख गन्तव्य अब अष्ट्रेलिया बन्न थालेको छ ।

पछिल्लो समयमा बेलायतका शिक्षण संस्थामा समस्या देखिएको र अमेरिकामा पढ्न महँगो खर्च गर्नुपर्ने भएकाले विद्यार्थीहरूको ध्यान अष्ट्रेलियातर्फ मोडिएको हो । अर्कोतर्फ अष्ट्रेलियामा तुलनात्मक रूपमा सस्तोमा आफूले चाहेको विषय अध्ययन गर्न पाउने र अन्य सुविधाहरूसमेत प्रशस्त भएकाले धेरै विद्यार्थी अष्ट्रेलिया जान चाहेको शैक्षिक परामर्श कम्पनीका सञ्चालकहरू बताउँछन् ।

विगत केही वर्षदेखि विद्यार्थी भिसा र डिपेण्डेण्ट भिसामा अष्ट्रेलिया जानेको सङ्ख्या बढेको उनीहरूको भनाइ छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जान सहज, आवश्यक कागजपत्रको तयारी, विषय छनोट र डिपेण्डेण्ट भिसामा जान केही खुकुलो नियम भएकाले विद्यार्थीको आकर्षण त्यसतर्फ बढेको उनीहरूको भनाइ छ । अष्ट्रेलियाको शिक्षा प्रणालीले विश्वव्यापी रूपमा मान्यता पाएको छ ।

हुन त विद्यार्थीहरू अष्ट्रेलिया अध्ययन गर्न गएर मात्र दक्ष बन्ने होइन । उनीहरूले कस्तो शिक्षण संस्था छनोट गर्छन् भन्नेमा पनि भर पर्छ । उनीहरूको चाहना अष्ट्रेलिया गएर रोजगारी गर्ने र पैसा कमाउने मात्र हुने गरेको छ । नेपाली विद्यार्थीहरूको रोजाइ सस्तो शिक्षण संस्था हुने गरेको छ ।
व्यावसायिक विषयको रोजाइ

अधिकांश विद्यार्थीहरू सूचनाप्रविधि, नर्सिङ, इञ्जिनीयरिङ, स्वास्थ्य विज्ञान, एमबीए, हस्पिटालिटी म्यानेजमेण्टजस्ता विषय अध्ययनका लागि अष्ट्रेलिया जाने गरेका छन् । विद्यार्थीहरूले सैद्धान्तिकभन्दा प्राविधिक विषयलाई बढी ध्यान दिने गरेका छन् ।

 

सम्बन्धित शिर्षकहरु