अधिकांस अष्ट्रेलियनहरु क्रिसमसको विदामा परिवासँग खुसि साटासाट गर्दै गर्दा ब्रिसवेनमा बसोवास गर्दै गरेका नेपालीहरुले भने यसपटक फरक ढंगमा क्रिसमस विदाको सदुपयोग गरेका छन्। सिम्रिक फुटबल क्लब ब्रिसवेनको स्थापनाको औपचारिक घोषणा तथा जर्सि हस्तान्तरण कार्यक्रममा यहाँ उपस्थित झण्डै एक सय जना नेपाली तथा अष्ट्रेलियनहरुले क्लबको निम्तो स्विकार गर्दै बार्वेक्यू सँगै लञ्चमा सहभागीता जनाएका हुन्।
सामाजिक सदभाव तथा भाइचाराको निरन्तरताका लागी वान टिम वान ड्रिमको नारा दिएर हालै मात्र स्थापित सिम्रिक फुटबल क्लबले आयोजना गरेको यस कार्यक्रमलाई हिमालयन विजनेस ग्रुपले प्रायोजन गरेको थियो। नेपालीहरु बिच अत्यन्तै माया गरिने फुटबल; खेल मात्र नभएर सामाजिक सदभाव, अनुशासन र आपसि तालमेलको अनुपम उदाहरण समेत मानिन्छ। एकै समुहभित्र बसेर फरक फरक भुमिका निभाएपनि अन्तिम निसानामा विपक्षीको पोष्टमा गोल हान्नै पर्ने बाध्यता अनि टिम गेम विना असम्भव प्राय मानिने यस खेलले आपसि सदभाव बढाउनेमा दुई मत छैन।
यहाँको पर्व विदाको अवसर पारेर जमघटको आयोजना गरिएपनि नेपालीहरुको उल्लेख्य उपस्थितिले कार्यक्रममा रौनक थपेको थियो। जर्सि हस्तान्तरण गर्दै प्रायोजकका तर्फबाट हिमालयन बिजनेस ग्रुपका प्रविन भण्डारीले क्लबको स्थापनादेखिनै सहकार्य गर्न पाएकोमा खुसि व्यक्त गरे। यसैगरि सोहि अवसरमा बोल्दै उनले क्लबसँग हातेमालो गर्दै भविष्यमा पनि यस्ता सामाजीक कामहरुमा सँधै साथ दिन ईच्छुक रहेको विचार व्यक्त गरे।
नेपालीज असोसिएसन अफ क्विन्सल्याण्ड लगायत अन्य संघसंस्थाका प्रतिनिधीहरुलले यस्तो किसिमको कार्यक्रमले सामाजीक सद्भाव र भाइचाराको वृद्धि गर्ने राय राखेका थिए। जर्सि हस्तान्तरण पश्चात क्लबको निमन्त्रणालाई स्विकार गरेर उपस्थित भएका सबैलाई क्लबका तर्फबाट क्लबका सदष्य सुनिल पराजुलीले धन्यवाद दिएका थिए।










