नेपालगन्जमा दर्शक रुवाउँदै कवि नवराज पराजुली

नेपालगन्ज । ‘अम्बाको रुखमुनि घाँस काट्न जाँदा सुगाले आधा अम्बा खाएर आधा झार्छ, सुगाको जुठो हँसियाले फाल्दै बाँकी अम्बा टोक्न खोज्दा मेरो जिब्रोले तिमीलाई सम्झिन्छ’ कवि नवराज पराजुली शनिबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा आफ्नो चर्चित कविता ‘हेब्बी बड्डे’ सुनाउँदै थिए।

आमाले छोरालाई सम्बोधन गर्दै लेखेको कविता सुनिरहँदा दर्शकदीर्घामा कोही टोलाइरहेका थिए त कसैको आँखा रसाइरहेको थियो। नेपाली साहित्य परिवार महेन्द्र बहुमुखी क्याम्पसले आयोजना गरेको कविता कन्सर्टमा कवि पराजुलीले ‘हेब्बी बड्डे’सहित ५ वटा कविता सुनाए। एक घन्टाभन्दा बढी समय उनले ‘च्याउ’, ‘सगरमाथाको गहिराइ’ लगायत कविता वाचन गरे। उनले ‘खोया’ र ‘मैझारोको कविता’ले प्रेमलाई छोएर संयोग र वियोगको प्रसंगलाई उठाएका थिए।

कार्यक्रमका प्रमुख अतिथि तथा कथाकार सनत रेग्मीले कवि पराजुलीका कविता युवा पुस्ताकै सबैभन्दा उत्कृष्ट भएको बताए। त्यस्तै, कथाकार महेशविक्रम शाहले आफू कवि नवराजको कविताको प्रशंसक भएको बताउँदै उनका कविता कलात्मक र सरल भएको टिप्पणी गरे। कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका विद्यार्थीले नृत्य तथा गीत प्रस्तुत गरेका थिए।

सम्बन्धित शिर्षकहरु