
भदाै १६, असनेपाल न्युज । मुस्लिमहरुको चाड इद–अल अधा नजिकिँदै छ। यसैले भारतको पुरानो दिल्लीस्थित जामा मस्जिद नजिकैको खसी बजारमा भीडभाड लागेको छ। त्यो भीडको आकर्षणको केन्द्र बनेको छ, खाटमा बसेको खसी।
उत्तर प्रदेश निवासी साहब अली नामक खसी व्यापारीको राजा नामक यो खसीको मूल्य साढे चार लाख भारतीय रुपैँया बताइएको छ। राजालाई अलीले यतिसम्म पुल्पुल्याएका छन् कि ऊ खानका लागि पनि भुइँमा ओर्लिन मान्दैन। कहिलेकाहीँ हिँड्न मन हुँदा मात्रै राजा भुइँमा झर्छ।
अली गत १५ वर्षदेखि खसी व्यापारका लागि पुरानो दिल्ली आइरहेका छन्। मेवती जातिको यो खसीलाई बदाम, दुध र घाँस खान दिइने अली बताउँछन्। तर राजाको प्रसिद्धिबाट खसीबजारका सबै खुसी छैनन्।
‘हामीसँग पनि यत्तिकै ठूल्ठूला र राम्रा खसी छन्, तर सबै किन राजाको पछि लागेका हुन् मलाई थाहा छैन,’ अर्का खसी व्यापारी नुर यमिनको भनाइ हिन्दुस्तान टाइम्सले उधृत गरेको छ। एजेन्सी








