काठमाडौँ, २५ जेठ । भारत र श्रीलङ्का हुँदै अब तेस्रो मुलुक जाने नेपाली नागरिकले ती देशका अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली दूतावासले दिएको ‘नो अब्जेक्सन लेटर’ देखाउनुपर्ने प्रावधानका लागि नेपालले पहल गर्ने भएको छ ।
पछिल्ला समय भारत र श्रीलंका हुँदै नेपालीलाई विभिन्न मुलुकमा लगि अलपत्र पार्ने र महिलालाई खाडीमा लगि बेचबिखन गर्ने कार्य मानवतस्कर हरुले गरेपछि त्यसलाई रोक्न यो नियम लागू गर्न लागिएको हो । अध्यागमन विभागमा बसेको सरोकारवाला मन्त्रालयका प्रतिनिधिको बैठकले ती दुवै मुलुक हुदै तेस्रो मुलुक जानेले ‘नो अब्जेक्सन लेटर’ देखाएमात्रै विदेश जान दिन भारत र श्रीलङ्कासँग कूटनीतिक पहल गर्न सरोकारवाला मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको विभागका महानिर्देशक गङ्गाराम गेलालले जानकारी दिनुभयो । सो प्रावधान अहिले पनि रहेकोमा त्यसको प्रभावकारी कार्यान्वयन नभएकाले कार्यान्वयनका लागि कूटनीतिक पहल अगाडि बढाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । विभागमा बसेको बैठकमा परराष्ट्र, गृह, श्रम तथा रोजगार, महिला तथा समाज कल्याण मन्त्रालयका प्रतिनिधि र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाको सहभागिता थियो ।
महानिर्देशक गेलालले मानव बेचबिखन र ओसारपसारका घटना बढेसँगै त्यसलाई रोक्ने उपायबारे आजको छलफल केन्द्रित रहेको जानकारी दिनुभयो । यसैगरी भारतमा अलपत्र नेपाली नागरिकको तत्काल उद्धारका लागि संयन्त्र निर्माण गर्न भारतसँग समझदारी गर्नुपर्ने निर्णयसमेत बैठकले गरेको छ । रासस








