प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश

         जेठ २२ – विभागीय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई डकवर्थ लेविस (डिएल) नियमका आधारमा ३४ रनले पराजित गर्दै पुलिस उपाधि नजिक पुगेको हो । अब पुलिसले उपाधिका लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीचको विजेतासगँ खेल्नेछ । आर्मी र पश्चिमाञ्चलबीच दोस्रो सेमिफाइल मंगलबार हुनेछ । कीर्तिपुरस्थित टियु मैदानमा पुलिसले दिएको २५३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपिएफले २८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १३८ रन बनाएर खेलीरहदा खेल वर्षाले प्रभावित गरेको थियो । एपिएफका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४५ र सन्दिप सुनारले ३६ रन बनाएका थिए । त्यसपछि खेल भएन र, डकवर्थ लेविस नियमका आधारमा एपिएफले २८ ओभर ३ बलमा १७३ रनको नयाँ लक्ष्य पाएपछि खेल पुलिसले जित्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५२ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ५२ रनको अर्धसतकिए पारी खेले । त्यस्तै सिद्धान्त लोहनीले ४०, दिपेन्द्रसिंह ऐरीले ३७ तथा सुनील धमला र अमित श्रेष्ठले समान २६ — २६ रन बनाए । एपिएफका अनिल साहले ३ तथा अरुण ऐरी र ज्ञानेन्द्र मल्ले दुईदुई विकेट लिए । प्रधानमन्त्री कपको विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशी २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

सम्बन्धित शिर्षकहरु