बैंक अफ काठमाण्डुको नाफा ८८ करोड ६७ लाख

काठमाडौं, २१ वैशाख – चालु आर्थिक वर्षको तेस्रो त्रैमाशमा बैंक अफ काठमाण्डु लुम्बिनी लिमिटेडको नाफा ४० करोड रुपैयाँ बढेको छ । चालु आवको ९ महिनामा बैंकले ८८ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । लुम्बिनी बैंकलाई गाभेपछि यो वर्ष बैंकको नाफा, निक्षेप र कर्जा लगानी बढेको हो । चालु आवमा बैंकको नाफा १ अर्ब पुग्ने सम्भावना छ ।

बैंकले आज सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरणअनुसार गत आवको तुलनामा वित्तीय अवस्था राम्रो रहेको देखाएको छ । समीक्षा अवधिमा बैंकले ७० अर्ब ६७ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ४० अर्ब ७१ करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । एक वर्षमा बैंकको निक्षेप परिचालन ३० अर्ब रुपैयाँ बढेको छ । बैंकले ६२ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । एक वर्षमा कर्जा लगानी झण्डै २८ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको खराव कर्जा १.७६, लगात ४.६८, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.६७ र कर्जा निक्षेप ब्याज दर अन्तर (स्प्रेड) दर ४ प्रतिशत रहेको बैंकले जनाएको छ । सीडी रेसियो कसिलो अवस्थामा रहेकाले बैंकलाई थप लगानी गर्न पुँजीको अभाव देखिएको छ । दोस्रो त्रैमाशको तुलनामा तेस्रा त्रैमाशमा बैंकको निक्षेप ०.९५ प्रतिशत र कर्जा लगानी भने घटेको छ । समीक्षा अवधिमा बैंकको चुक्तापूँजी ५ अर्ब ६२ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकले आउदो असारसम्म चुक्तापूँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्‍याउँदैछ ।

सम्बन्धित शिर्षकहरु