मोराटाको ह्याट्रिक, रियल शीर्ष स्थानमा कायम 

काठमाडौँ । अल्भारो मोराटाको ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लिग लिडर रियल मड्रिडले रेलिगेशन जोनमा रहेको लेगानेसलाई ४–२ गोलले पराजित गरेको हो ।

लेगानेसको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले स्टार खेलाडीहरु क्रिस्टियानो रोनाल्डो, गारेथ बेल र टोनी क्रुजलाई विश्राम दिइएको थियो । तर, मोराटाले ह्याट्रिक र जेम्स रोड्रिगेजले एक गोल गरेपछि रियल मड्रिडले जित निकाल्यो ।लेगानेसका गाब्रियल पिरेस र लुसियानोले एक एक गोल फर्काए।

खेलमा रियल मड्रिडले खेलको १५ औ मिनेटमा रोड्रिगेजको गोलबाट सुरुवाती अग्रत लिएको थियो । त्यसपछि खेलको १८ औ मिनेटमा मोराटाले अग्रता दोब्बर बनाए । त्यसपछि २३ औ मिनेटमा मोराटाले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३ – ० को अग्रता दिलाए ।

खेलको ३२ औ मिनेटमा गाब्रियल पिरेसले एक गोल गर्दै लेगानेसलाई खेलमा फर्काउने कोशिस गरे । त्यसको दुई मिनेट पछि नै लेगानेसका लुसियानोले अर्को गोल गर्दै खेल ३ – २ मा ल्याए ।  तर, दोस्रो हाफको ४८ औ मिनेटमा मोराटाले ह्याट्रिक पुरा गर्दै रियल मड्रिडलाई ४ – २ को जित दिलाए ।

जितसंगै शिर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथि २ अंकको अग्रता बनाएको छ । २९ खेलमा रियल मड्रिडले ७१ अंक जोडेको छ । एक खेल बढि खेलेको बार्सिलोनाको ६९ अंक छ ।

सम्बन्धित शिर्षकहरु