विराटनगर । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयनका लागि स्थानीय निर्वाचन आवश्यक रहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज अपराह्न पत्रकारहरुसँग कुराकानी गर्दै उनले नेपाली जनताको माग र एमालेको दबाबमा स्थानीय निर्वाचन हुन गइरहेको दाबी गरे ।
संविधान संशोधन प्रस्ताव कुबेलाको बाजासरह रहेको प्रसङ्ग उल्लेख गर्दै उनले कुनैपनि हालतमा संविधान संशोधन हुन नदिने दृढता प्रकट गरे ।
प्रदेशको सीमाङकनलाई तलमाथि गर्ने अधिकार वर्तमान संसदलाई नरहेको उल्लेख गर्दै नेता खनालले नयाँ प्रतिनिधिसभाले मात्र संविधानको संशोधन गर्न सक्ने धारणा राखे ।
मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्न मधेसी मोर्चालाई दृढतापूर्वक निर्वाचनमा सहभागी हुन आह्वान गर्दै उनले भने, “तराई–मधेसको जनताको हक खोजेको छ भने निर्वाचनमा सहभागी हुनुपर्दछ ।”
संविधान कार्यान्वयनका लागि निर्वाचन महत्वपूर्ण खुड्किलो– अध्यक्ष गच्छदार
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो रहेको बताए ।
विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको समयभित्रै परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित गरी मधेसी, थारु र आदिवासीको अधिकार सुनिश्चित गर्नुपर्ने सुझाव दिए ।
उनले मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागी गराएर निर्वाचनलाई सफल बनाउनुपर्ने अन्यथा मधेसी मोर्चाबाहेकको निर्वाचन नाम मात्रको निर्वाचन हुनेतर्फ सचेत गराए ।








