बार्सिलोना । बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको उपाधिनजिक पुगेको छ। सेमिफाइनलको दोस्रो लेगमा मंगलबार राति एथ्लेटिको मड्रिडसँग १–१ को बराबरी खेलेसँगै समग्रमा ३–२ को जित निकाल्दै बार्सिलोनाले फाइनलमा स्थान पक्का गरेको हो।
घरेलु मैदानमा भएको खेलमा ९ खेलाडीमा सीमित बार्सिलोनाका लागि लुइस स्वारेजले गोल गरे। १० खेलाडीमा सीमित भएको एथ्लेटिको मड्रिडका लागि केविन गामेइरोले गोल गरेका थिए।
खेलको ५७ औं मिनेटमा सेर्गी रोबर्टो दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भयो। ६९ औं मिनेटमा यानिक काररास्को दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एथ्लेटिको पनि १० खेलाडीमा सीमित भयो। ९० औं मिनेटमा स्वारेज दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना केही समय ९ खेलाडीमा सीमित भएको थियो।
एथ्लेटिको मड्रिडले पेनाल्टीमा गोल गर्न नसकेपछि फाइनलको यात्रा तय गर्न सकेन। केविन गामेइरोले पेनाल्टी मिस गरेका थिए।
यसअघि पहिलो लेगमा बार्सिलोना २–१ ले विजयी भएको थियो।








