भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले स्थानीय निकायको निर्वाचन मिति छिटो घोषणा गर्नुपर्ने बताएका छन् ।
आज भक्तपुरको चाँगुनारायण नगरपालिकाको तेस्रो नगरपरिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक समारोहमा उनले निर्वाचन ढिलाइ हुँदा स्थानीय निकायको विकासमा बाधा पुगेको बताए ।
अध्यक्ष बिजुक्छेले सरकारले निर्वाचनको तयारीमा जुट्न अब ढिलाइ गर्न नहुनेमा जोड दिँदै देशलाई अब निर्वाचनमय बनाउनुपर्ने आवश्यकता औँल्याए ।
सांसद प्रेम सुवालले सरकारले निर्वाचनमा ढिलाइ गरे लोकतन्त्र नै सङ्कटमा पर्ने बताए ।
समारोहमा नगरपालिकाका कार्यकारी अधिकृत लोकनाथ भुसालले आव २०७४÷०७५ का लागि कुल रु १९ करोड १२ लाखको बजेट सार्वजनिक गरे।
बजेटमा आन्तरिक आयतर्फ रु दुई करोड ८७ लाख ८५ हजार र राजस्व बाँडफाँटतर्फ रु एक करोड ६५ लाख एवम् अनुदानतर्फ रु १४ करोड ८९ लाख ४६ हजार रहेका छन् ।
त्यस्तै, चालुतर्फ रु ७ करोड १२ लाख ६८ हजार र पुँजीगततर्फ रु ११ करोड ९९ लाख ५८ हजार खर्च गर्नेगरी अनुमानित बजेट सार्वजनिक गरिएको छ ।








