काठमाडौँ, “सिल्ल है सिलगढी रामरो गुर्खोला है गढी
साइराम पद्मका फूल लुवा साङाल पढी ?”
भनेर प्रश्न गर्दा उत्तर यस्तो आयो –“वाज भोकै परेवा भोकै म पनि भोकै छु, मायाले मुलुक झेल्या खायाले चोखै छौँ ।”
यो आज टुँडिखेलमा युवा युवतीले गौरा पर्व मनाउने क्रममा देउडा भाकामा गरेको सवाल जवाफ हो ।
गौरा पर्व र देउडा नाचको रौनक देख्दा लाग्थ्यो सुदूरपश्चिमवासीले टीकापुरमा केही हप्ताअघि घटेको दुःखद् घटना बिर्सने कोसिस गरिहरहेका छन् ।
के युवायुवती, के वृद्धवृद्धा, के बालबालिका सबै नै देउडा भाकामा स्वर मिलाउँदै रमाएका देखिन्थे । करिब १० वर्षे छोरो साथमा लिएर गौरा पर्व मनाउन आएकी बैतडीकी निर्मला विष्टले भनिन्, “काठमाडौँमा रहेर पनि आफ्नो चाड पर्व मनाउन पाउँदा खुसी लागेको छ ।”
खासगरी गौरा पर्व सुदूरपश्चिम र मध्यपश्चिमका खस–आर्य समुदायले मनाउने भएपनि यसमा देखिएको समावेशीताले राष्ट्रिय एकताको झल्को दिन्थ्यो । मध्यपश्चिमका हिमाली जिल्लाका लामा समुदायका करिब १५ युवती सांस्कृतिक पोसाकमा सजिएका थिए । बाहुन÷क्षेत्री समुदायका केही युवाले ती लामा समुदायका युवतीलाई सँगै देउडा गाउन प्रस्ताव गर्दा टुँडिखेलको माहोल रमाइलो भएको थियो ।
छिरिङ डोल्कर लामाले बाहुन÷क्षेत्री युवातिर लक्षित गर्दै भनिन्, “हामी उहाँहरुको संस्कृतिलाई सम्मान गर्न यहाँ आएका हौँ, अरु रमाइलो त छँदैछ ।”
देउडा गायक नन्दकृष्ण जोशी सुदूर र मध्यपश्चिमका थारुलगायत सबै जाति र समुदायका मानिस गौरा पर्व मनाउन आएकाले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्न यस्ता पर्वले महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्, उनी भन्छिन् “यो पर्व सुदूरपश्चिम या पहाडीको मात्र हैन, यसमा देखिएको थारु समुदायको सहभागिताले देखाउँछ, यो देशैभरिको पर्व हो ।”
गौरा पर्व गौरी अर्थात् पार्वतीसँग सम्बन्धित पर्व हो र गौरा माताका रुपमा पूजाअर्चना गरिन्छ । गौरा माताको प्रतिमा अविवाहित छोरी चेलीले बनाउने प्रथा छ । कोटेश्वरस्थित महादेवस्थानमा राखिएको गौरा माताको प्रतिमा ल्याएर सबैलाई दर्शन गराएपछि कुनै मन्दिरमा गएर साँझ बिसर्जन गर्ने चलन छ । माताको सवारी भर व्रत बस्ने प्रचलन छ । व्रत सकिएपछि पाँच अनाज मिसाएर तयार गरिएको बिरुडा खाएर व्रत फुकाउने गरिन्छ । पर्वभर रातो धागो महिलाको शरीरमा लगाइन्छ, जो पुरुषको जनै सरह हो । गौरा माताको बिसर्जनका लागि बिहानैदेखि व्रत बसेकी माधवी भट्टले भनिन्, “गौरा माताको यात्रा गराउने अधिकार केवल महिलालाई मात्र छ, त्यसैले यो महिलाले अधिकार लिएको पर्व हो ।”
गौरा पर्व हरेक वर्ष साउन या भदौमा तिथिअनुसार मनाइन्छ । पर्व राजधानीमा मनाउन थालिएको विसं २०३२ देखि भए पनि यसले बृहत् रुप लिन थालेको ०४८ सालदेखि हो । काठमाडौँमा छोटोरुपमै गौरा पर्व सकिने भए पनि सुदूरपश्चिममा यसको रौनक पुत्रोदय एकादशी–भदौ १० देखि सुरु भएर आगामी पूर्णिमासम्म चल्छ । गौरा पर्वमा सहभागी कीर्ति चन्द भन्छन् “यो पर्व राजधानीमा भित्र्याउने कालिकास्थान निवासी उप्रेती थरका एक जना व्यक्ति हुन्, जसले गौरा पर्वलाई राष्ट्रिय पर्व बनाउन सहयोग पु¥याए ।”
गौरा पर्र्वको पौराणिक किम्बदन्तीअनुसार सत्ययुगमा सतिदेवीले महादेव पति पाउनका लागि दुर्वा अष्टमीसम्म आठ दिन पानी पनि नखाइकन बसेको स्कन्दपुराणमा उल्लेख छ । ज्योर्तिविद् पं गणेशप्रसाद पन्त भन्छन्, “त्यसैले त गौरा पर्वलाई तीजसँग सम्बन्धित पर्व मानिएको हो । ”








