ललितपुर, ७ मङ्सिर । महानगरीय प्रहरी परिसर, ललितपुर आफू मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ ।
नागरिकलाई प्रहरीसम्म सहज पहुँच पु¥याउनका लागि कार्यालयको सुधार गर्न लागिएको परिसरले बताएको छ । यही वर्ष मात्रै कालेश्वर र लाँकुरीभञ्ज्याङ गरेर दुई ठाउँमा नयाँ कार्यालयको स्थापना भइसकेको छ ।
आगामी वर्ष छ नयाँ ठाउँमा प्रहरी कार्यालयको स्थापना गर्ने योजना परिसरको छ । तीन ठाउँमा नयाँ प्रभाग र तीन ठाउँमा इलाका प्रहरी कार्यालयको स्थापना हुन लागेको हो । फर्सिडोल, नखिपोट र छम्पीको चुनिखेल गरेर तीन स्थानमा नयाँ प्रभागको तयारी भएको छ । सिद्धिपुर, टीकाथली र लामाटारमा इलाका प्रहरी कार्यालयको तयारी भइरहेको परिसरले जनाएको छ ।
डुकुछापको फर्सिडोलमा कार्यालय चाँडै स्थापना हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले बताए । उनले, “झन्डै सबैखालका तयारी भइसकेकाले कार्यालय चाँडै खुल्दैछ ।” स्थानीयवासीसँगको सहकार्यमा बढी आवश्यक भएका ठाउँमा कार्यालय खुलाइएको उनले बताए ।
परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले नागरिकको माग र आवश्यकताका आधारमा प्रहरीका नयाँ कार्यालयको स्थापना भइरहेको बताए। उनले भने, “माग भएका ठाउँमा साँच्चै आवश्यक भएमा प्रमुुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्छ । जिल्लाको मागलाई गृह मन्त्रालयले हेरेर मात्रै स्वीकृति र जनशक्ति पठाउने गर्छ ।”








