काठमाडौं,आक्रमणकारीको समुहको आक्रमणमा परी घाइते भएका अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको निएटोको मृत्यु भएको छ ।
क्षेत्रीय क्लब टिरो फेडलरका ३३ वर्षीय कप्तानमाथि उत्तर पश्चिम अर्जेन्टिनाको एमोगास्टामा चकारिट जुनियरविरुद्धको खेलपछि आक्रमण भएको थियो ।
टिरो फेडलर र चकारिट जुनियरबीतको खेलमा खेलाडीहरु झगडा गरेपछि रेफ्रीले आठ खेलाडीलाई रातो कार्ड दिएका थिए, जसका कारण खेल निर्धारित समयभन्दा १५ मिनेट अघि नै रोकिएको थियो ।
खेलपछि पत्नी र छोरीसँग कारमा जाँदै गरेका फ्राङको निएटोलाई तीन जनाको समूहले घेरा हालेर आक्रमण गरेको उनका आफन्तले बताए ।
कुटपिटपछि आक्रमणकारी समूहका एक जनाले उनको टाउकोमा ढुंगाले हानेका थिए । उनी ढलेपछि आक्रमणकारी भागेका थिए ।
अर्जेन्टिनामा यो वर्ष फुटबलसँग सम्वन्धित हिंसामा १५ जनाको मृत्यु भइसकको छ ।








