शान्ति सम्झौताले माओवादीलाई क्षति हुनबाट बचायो

काठमाडौँ, ५ मङ्सिर । बिस्तृत शान्ति सम्झौताले नेकपा माओवादी केन्द्रलाई ठूलो क्षति हुनबाट जोगाएको नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले बताएका छन् ।

आज काठमाडौँमा जनाधिकार अभियान नेपालको आयोजनामा भएको ‘बिस्तृत शान्ति सम्झौताः सविधान र राजनीतिक दिशा’ विषयक अन्तक्र्रियामा नेकपा एमालेका सचिव ज्ञवालीले केही कुरामा पार्टीका नेताबीच असहमति रहेपनि त्यो समयमा शान्ति सम्झौता भएर माओवादीले ठूलो मूल्य चुकाउनुपर्ने अवस्थाबाट बचेको बताए।

शान्ति सम्झौताका कारणले नै निरङ्कुश राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै सचिव ज्ञवालीले यसबाट लोकतन्त्र स्थापनामा मद्दत पुगेको बताए । संविधान जारी हुँदा विवाद आउनु नौलो नभएको र संविधान संशोधन नै नगर्ने आफ्नो पार्टीको धारणा नभएको पनि स्पष्ट पारे ।

उनले भने, “संशोधन गरिने विषयमा गम्भिर छलफल हुनुपर्छ । अङ्गीकृतलाई राष्ट्र प्रमुख बनाउने गरी संशोधन गरिने कुरा एमालेलाई स्वीकार्य छैन ।” नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले शान्ति सम्झौता गलत ढङ्गबाट भएको बताए।
उनले सम्झौता गलतरुपमा हुनु हालको माओवादी केन्द्रको मात्र दोष भएको बताउँदै सम्झौताले जनता र क्रान्तिकारीहरुलाई धोका दिएको आरोप लगाए ।

उनले भने, “अहिलेको संविधानले कसैको पनि उचित सम्बोधन गर्न नसकेकाले संशोधन होइन, खारेज नै हुनुपर्छ ।” अहिलेको अस्थिर अवस्थाका कारक नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र भएको पनि उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रियासँग जोडिएकाले संविधान निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । अहिले नयाँ संविधानको केही व्यक्तिले विरोध गरे पनि संविधानमा उल्लेख भएका विषय पढ्दै नपढी विरोध गर्नु उचित नभएको उनको भनाइ थियो ।

उनले नेपालमा समावेशी समानुपातिकता शान्ति सम्झौता पछि सुरु भएको र संविधानले दलित, महिला, जनजाति लगायतका सबैको अधिकार सुनिश्चित गरेको बताए । उनले भने, “संविधानमा केही कुरा संशोधन गर्न आवश्यक छन् तर अङ्गिकृतलाई प्रमुख पद दिने उल्लेख गर्नु असम्भव विषय हो ।”

संशोधन गर्नुपर्नेमा सिमाङ्कन, नक्शाङ्कन, सङ्घीयताका विषय मात्र रहेको उहाँको भनाइ छ ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनताको प्रतिनिधित्व गराउँदै गरिएको शान्ति सम्झौतालाई विषयान्तर गराइएको आरोप लगाए ।

काँगेस र एमालेले माओवादीका ठूला नेतालाई मिलाएर विवादको स्थिति ल्याएको उनले बताए । शान्ति सम्झौता गलत तरिकाबाट ल्याइएको भन्दै महासचिव चन्दले सम्झौताले प्रचण्ड र डा बाबुराम भट्टराईलाई एक स्थानमा पु¥याए पनि अरुलाई भने निकै पछाडि छाडेको धारणा राखे ।

सम्बन्धित शिर्षकहरु