असोज १५ । काठमाडौँ, नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।
क्यानको बोर्ड बैठकले बिहीबार अनुशासनविपरित गतिविधि गरेको आरोप लगाउँदै कारबाही स्वरूप पारसलाई कप्तान पदबाट हटाएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । स्रोतका अनुसार पारसले क्यानबिरूद्ध राजनीति गरेको भन्दै बैठकमा चर्को आलोचना भएको थियो ।
क्यानको अनुशासन समितिले समेत पारसले अनुशासनविपरीत काम गरेको निष्कर्ष निकाल्दै पटकपटक क्रिकेट व्यवस्थापनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन् । क्रिकेटको विकासमा क्यान बोर्ड जिम्मेवार नभएको आरोप पनि पारसले लगाउँदै आएका छन् । पारस सन् २००९ देखि सिनियर टोलीका कप्तान थिए । क्यानका कार्यवाहक महासचिव उत्तम कर्माचार्यले पारसलाई कप्तानबाट हटाउने निर्णय गरिएको बारे केही बताउन चाहेनन् । समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।








