क्लिन्टनले विधिको शासन, समानता तथा आत्मसम्मान जस्ता संविधानका मुल्यहरुका लागि लड्न आह्वान गरेकी छन्
४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको निर्वाचन भएसंगै बढेको संशय र चिन्ताका माझ अमेरिकाका नेताहरुले राष्ट्रिय एकताका निम्ति आह्वान गरेका छन्।
लामो र तिक्ततापूर्ण चुनावी अभियानपश्चात आश्चर्यजनक ठानिएको नतिजासंगै राजनीतिमा यसअघि अनुभव नभएका डोनाल्ड ट्रम्प निर्वाचित भएपछि त्यहाँको समाजमा विभाजन फराकिलो हुने चिन्ता सम्बोधन गर्ने प्रयासमा नेताहरुले त्यस्तो आह्वान गरेका हुन्।
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प, उनकी प्रतद्वन्द्वी हिलरी क्लिन्टन र राष्ट्रपति बराक ओबामाले चुनावको परिणामपछि सबैलाई एकताबद्ध हुन अपिल गरेका छन्।
आग्रह
डेमोक्र्याटको तर्फबाट उम्मेदवार रहेकी हिलरी क्लिन्टनले हार पीडादायी भए पनि ट्रम्प सबै अमेरिकीहरुको लागि सफल राष्ट्रपति हुनेछन् भन्नेमा आफू आशावादी रहेको बताइन्।
उनले आफ्नो पराजयसंगै दशौं लाख मानिसहरुको आशा धराशायी भए पनि अर्बपति व्यापारीलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरिन्।
उनले भनिन्, “हाम्रो संवैधानिक प्रजातन्त्रले विधिको शासन तथा अधिकार एंव आत्मसम्मनमा सबैको समानताको रक्षा गरेको छ।”
तर उनले संविधानका यस्ता मूल्यहरुका लागि लड्न आफ्ना समर्थकहरुलाई आह्वान गरिन्।
क्लिन्टनको उक्त भनाइलाई समर्थन गर्दै राष्ट्रपति ओबामाले ट्रम्पसँग आफ्नो उल्लेख्य मतभेद रहे पनि रिपब्लिकन र डेमोक्र्याट दुईवटा प्रशासनबीचको संक्रमणलाई सफल बनाउन सक्दो कोशिश गर्ने बताए।
ओबामाले सत्ता हस्तान्तरणको प्रक्रिया सहज हुने बताएका छन्।
ज्यानुअरी २० तारिखमा हुने सत्ता हस्तान्तरणबारे छलफल गर्न ओबामा र ट्रम्प बिहीबार भेट गर्दैछन्।
यसैबीच, सिनेटमा बहुमत रहेको रिपब्लिकन पार्टीका नेता मिच मक्कनेलले ट्रम्पले आफ्नो कार्यकालको शुरुको दिनहरुमा कस्तो नीति अपनाउनुपर्छ भन्नेबारे मुख खोलेका छन्।
मक्कनेलले राष्ट्रपति बराक ओबामाको स्वास्थ्य बीमासम्बन्धी सुधार रद्द गर्ने विषय ट्रम्पको उच्च प्राथमिकतामा रहेको भन्दै उनले यो वर्तमान प्रशासन अन्तर्गत बनेको सबैभन्दा खराब कानुन भएको बताए।
उनले ट्रम्पलाई चुनावी प्रचारप्रसारको मुख्य विषय रहेको आप्रवासबारे पनि कदम चाल्न भनेका छन्।
‘सावधानीपूर्ण प्रतिक्रिया’
रिपब्लिकनका नेता तथा तल्लो सदनका सभामुख पल रायनले ट्रम्पको जीतलाई आफुले जीवनकालमा देखेको सबैभन्दा असाधारण राजनीतिक जीत भएको बताए। ट्रम्पको जीतसँगै शुरुमा केही हतास देखिएका अमेरिका र युरोपका शेयर बजारहरु पुन: सम्हालिन थालेका छन्।
त्यस्तै ट्रम्पको विजयप्रति विश्व नेताहरुबाट सावधानीपूर्ण प्रतिक्रियाहरु आइरहेका छन्।
मेक्सिकोका राष्ट्रपति इनरिके पेन्या नियटोले ट्रम्पलाई बधाइ दिन गरेको टेलिफोनमा उनीसँग मित्रतापूर्ण र सम्मानजनक संवाद भएको बताएका छन्।
पत्रकारहरुसँग पेन्या नियटोले चुनावको परिणामले दुवै राष्ट्रलाई चुनौतिका साथै ठूलो अवसर दिएको भन्दै उनको प्राथमिकतामा मेक्सिनहरुको सुरक्षा रहने बताए।
संयुक्त राष्ट्रसंघका महासचिव पदबाट बाहिरिन लागेका बान कि मुनले जलवायु परिवर्तन जस्ता विश्वव्यापी चुनौतिसँग कसरी जुध्ने भन्नेबारे अमेरिकी सरकारसँग काम गर्ने आशा व्यक्त गरेका छन्।
त्यस्तै फ्रान्सका राष्ट्रपति फ्राँस्वा ओलाँदले मतपरिणामले अनिश्चितता तर्फ लगेको बताएका छन्।
यद्यपि अन्य यूरोपेली नेताहरुले भने ट्रम्पलाई पश्चिमा प्रजातन्त्रका मूल्यमान्यताको सम्मान गर्न आह्वान गरेका छन्।
बीबीसी नेपाली सेवाबाट अनुदित








