डिएसपी सहित दर्जनौं घाइते

Bhairahawa-Jhadap-11भैरहवा, रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरुबीच झडप हुँदा डिएसपी महेन्द्र खड्कासहित दर्जनौं घाइते भएको खवर प्राप्त भएको छ । झडपमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी खड्कासहित, प्रहरी सहायक निरीक्षक यनबहादुर कुँवर, हबल्दार गजेन्द्र विष्टलगायत प्रहरी गम्भीर घाइते छन्।

झडपमा रुपन्देहीको तिलोत्तमा नगरपालिका भलबारीस्थित सुकुम्बारी बस्तीका कृष्णबहादुर क्षेत्री पनि घाइते छन् । उनको हातका औंला काटिएका छन् । उनी गम्भीर घाइते अवस्थामा दशगजा क्षेत्रमा भेटिएका थिए । उनलाई नेपाल प्रहरीले उद्धार गरेर उपचारका लागि भीम अस्पतालमा पुर्‍याएको छ ।

नाकाबन्दी गर्न भन्दै मोर्चाका कार्यकर्ताहरु भन्सार नाका क्षेत्रमा धर्ना बस्न खोजेपछि प्रहरीले हटाउँदा झडप सुरु भएको थियो । दशगजा क्षेत्रबाट प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा बर्साएपछि नेपालका सुरक्षाकर्मीहरु केहिबेर पछि हटेका थिए । प्रदर्शनकारीले प्रहरी कार्यालयमै ढुंगा बर्षाएर तोडफोड गर्न थालेपछि सशस्त्र र जनपद प्रहरी अघि बढेको थियो । त्यसपछि प्रदर्शनकारी भारतीय भूमितर्फ भागेका थिए । प्रदर्शनकारीलाई भगाउन प्रहरीहरुलाई स्थानीयले समेत सहयोग गरेका थिए ।

सदभावना अध्यक्ष राजेन्द्र महतोले भैरहवा क्षेत्रको आन्दोलनको नेतृत्व गरेका छन् । यसअघि भैरहवा भन्सार नाकामा धर्नाको जिम्मा तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको थियो ।

तर, सो नाकामा धर्ना प्रभावकारी नभएको र भारतबाट सामानहरु आयात भैरहेको पाइएपछि महतो आफैले नेतृत्व सम्हालेका छन् । उनी मंगलबार भैरहवा आइपुगेका थिए । उनले भारतीय सीमा बजार सुनौलीमा बसेर आन्दोलनमा कार्यकर्ताहरु परिचालन गर्दै आएका छन् ।

सम्बन्धित शिर्षकहरु