सि जिनपिङसँग ‘हट टु हट’ कुराकानी भयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ राष्टपति सि जिनपिङसँगको आकस्मिक रुपमा जुरेको अनौपचारिक भेटघाटमा खुलेरै ‘हट टु हट’ कुराकानी भएको बताएका छन् । गोवामा आयोजित ब्रिक्स र बिमेस्टेक सम्मेलनमा सहभागी भई स्वदेश फर्कने क्रममा प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग भने ‘चिनियाँ राष्ट्रपतिसँगको त्यो अनौपचारिक भेट मेरा लागि अचानक नै थियो । चिनियाँ राष्ट्रपति म भएकै ठाउँमा आउनुभयो । ढुङगा खोज्दा देउता मिले जस्तो भयो मेरा लागि । म सिधा–सिधा कुराकानी गर्न चाहन्थेँ, त्यो नेपालका लागि राम्रै अवसर भयो ।’
प्रधानमन्त्री प्रचण्डको चिनिया राष्टपति र त्यसको केहीबेरपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक रुपमा भेटघाट भएको थियो । प्रचण्डले भने ‘हट टु हट कुराकानी भयो । २० मिनेट जति कुराकानी भएको थियो । ’
प्रचण्डका अनुसार, दुई नेताहरुको कुराकानी भईरहेकै समयमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आईपुगेका थिए । त्यसरी जुरेको तीन देशका नेताहरुको भेटलाई उनले नेपाल र नेपाली जनताका लागि सुःखद रहेको धारणा राखे । ‘बीचमा भारतका प्रधानमन्त्री मोदी जी पनि आउनुभयो । त्यो नेपाल र नेपाली जनताका लागि सुःखद रह्यो । म वीचमा दुईवटा विशाल छिमेकी देशको बीचमा बसेको थिएँ’ प्रधानमन्त्रीले भने, ‘यो पटक नेपाल र नेपालीको शिर ठाडो पारेको र त्रिदेशीय सम्वन्धका लागि मैले सकारात्मक भूमिका खेलेँ भन्ने लागेको छ ।’
ती भेटघाटमा आफुले त्रिदेशीय साँझेदारी, नेपालको शान्ति प्रक्रिया र विकासका विषयमा केन्द्रित रहेर आफूँले कुरा राखेको प्रचण्डको भनाई छ । उनले चीनका राष्ट्रपतिलाई आफुले ५ मिनेट कुराएको भनी आएको समाचारमा सत्यता नरहेको भन्दै सत्यतामा रहेर समाचार सम्प्रेषण गर्न समेत आग्रह गरे ।
उनले वरु आफैले सि जिनपिङलाई एक घण्टा बढी समय कुरेर वसेको पनि जनाए । ‘६ बजेर १० मिनेटमा आम्रो भेटघाट हुने कुरा थियो । ७ बजेर १० मिनेटसम्म पनि भारतीय प्रधानमन्त्री र चीनका राष्ट्रपतिको भेटघाट सकिएको थिएन, तर नेपालका समाचारमा ५ मिनेट मैले कुराएको जस्तो समाचार आएछ, यसले मेरो मन नराम्रोसँग दुखेको छ ।’
प्रधानमन्त्री ब्रिक्स र बिमस्टेक सम्मेलनमा भाग लिन गत शनिबार भारत गएका थिए । उनलाई उपप्रधानमन्त्री विमलेन्द्र निधि, सभामुख ओनसरी घर्ती लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।

सम्बन्धित शिर्षकहरु