काठमाडौंमै डेंगु संक्रमणको खतरा

mosquitoकाठमाडौं । चितवनका २१ जनामा डेंगुको संक्रमण देखिएपछि काठमाडौंबासीलाई पनि सतर्क रहन स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी शाखाले अनुरोध गरेको छ ।

इपिडिमियोलोजी शाखाले डेंगु सार्ने ‘एडीज’ नामक लामखुट्टे काठमाडौंमा पनि देखिएको भन्दै सतर्क रहन अनुरोध गरेको हो ।

शाखाका अनुसार करिब एक महिनाको अवधिमा चितवनमामात्र झण्डै २१ जनामा डेंगुको संक्रमण देखिएको छ र डेंगु सार्ने लामखुट्टे काठमाडौंमा पनि भेटिएको शाखाका अधिकारीहरु बताउँछन् ।

चितवनमा देखिएको डेंगु काठमाडौंको लामखुट्टेले सारेको हो वा त्यहीँबाट फैलिएको हो भन्नेबारे अहिलेसम्म यकीन जानकारी भने नआएको इपिडिमियोलोजी शाखा प्रमुख डा। गुणनिधि शर्माले बताए ।

डा। शर्माले भने, ‘अहिलेसम्म काठमाडौंमा डेंगुका विरामी नदेखिए पनि डेंगु सार्ने लामखुट्टे भने प्रशस्त मात्रामा भेटिएका छन् । तर, चितवनमा देखियो त्यो रोग काठमाडौकै लामखुट्टेले सारेको हो वा उतैबाट सरेको हो भन्ने अझै पुष्टि भएको छैन ।’

यद्यपी, डेंगु सार्ने लामुखट्टेले संक्रमित व्यक्तिलाई टोकेर अन्य व्यक्तिलाई टोकेको खण्डमा यो रोग सजिलै सर्ने हुँदा सजग रहन उनको अनुरोध छ ।

नेपालमा हरेक वर्ष डेंगुको संक्रमण हुने गरेको छ । यस वर्ष नेपालमा डेंगुबाट कसैले ज्यान गुमाउनु परेको छैन । तर, सन् २०१० मा नेपालमा डेंगुबाट मर्नेको संख्या १० पुगेको थियो । त्यस्तै, गत वर्ष दुईजनाले डंगुबाट ज्यान गुमाएका थिए ।

सम्बन्धित शिर्षकहरु