काठमाडौँ, ३ असोज । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली इतिहासको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।
संविधान दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा सभापति देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई संविधानले पारस्परिक एकता र सहकार्यतर्फ डो¥याउन बलियो आधार प्रदान गरेको उल्लेख गरेका छन् ।
यस संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न बनाएकाले नेपाली जनताको लोकतन्त्रप्रतिको अटुट निष्ठालाई नेपाली कांग्रेसले हृदयदेखि नै सम्मान गरेको सभापति देउवाले बताएका छन् ।
यस्तै सभापति देउवाले संविधानको कार्यान्वयन अहिलेको महत्वपूर्ण दायित्व र जिम्मेवारी रहेको भन्दै संविधानको कार्यान्वयन र मुलुकको समग्र विकासमा सबै राजनीतिक दललाई इमान्दार रहन संविधान जारी भएको यस ऐतिहासिक दिनले प्रेरणा र मार्गदर्शन प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्यायजस्ता कुराको मूलभूत विशेषता रहेको यस संविधानले खासगरी उपेक्षित र उत्पीडित जनताका अधिकार सुरक्षित गर्न सफल रहेको बताएका छन्।
संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत एवम् सुरक्षित गर्दै यसैका माध्यमबाट जनताका हक अधिकार सुनिश्चित गरी आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको बाटोमा अग्रसर हुन उहाँले सबैमा आग्रह गरेका छन्।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले संविधानको सफल कार्यान्वयनका लागि मुलुकमा स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन अपरिहार्य भएको र यसका लागि सरकार, राजनीतिक दल र सम्बद्ध पक्ष जागरुक रुपमा तयार रहनु आवश्यक भएको बताए छन्। उनले असन्तुष्ट पक्षका भावना र विचारलाई समेट्दै संविधान संसोधनको माध्यमद्वारा उनीहरुको माग सम्बोधन गर्न जोड दिएका छन् ।








