अर्घाखाँची, ३० भदौ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकार पक्ष र प्रतिपक्षभन्दा पनि संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्ने बताएका छन् ।
सरकारमा को छ भन्दा पनि संविधान घोषणामा दलहरु एकमत र एकढिक्का भएजस्तै संविधान कार्यान्वयनका लागि एकजुट हुन नसकेमा संविधान कार्यान्वयन हुन नसक्ने बताए ।
उनले संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको र संविधान संशोधनका लागि दुई तिहाइ चाहिने तर सरकार पक्षसँग मात्र त्यो सङ्ख्या नभएकाले एमाले लगायतका दलको पनि साथ चाहिने बताए । सहमति, सहकार्य र एकताबिना संविधान कार्यान्वयन हुनै नसक्ने उहाँले धारणा राखे।
अर्घाखाँचीको सन्धिखर्कमा गाउँपालिका तथा नगरपालिकाको सीमाङ्कन तथा नामाकरणसम्बन्धी जिल्लास्तरीय परामर्श कार्यशालामा बुधबार बोल्दै नेता रायमाझीले संविधान कार्यान्वयन भएमात्र स्थानीय निकाय पुनःसंरचना र मधेसीको माग सम्बोधन हुने बताए। स्थानीय बासिन्दाको मागलाई सम्बोधन गरेर अधिकतमभन्दा अधिकतम सजिलो हुनेगरी पुनःसंरचनामा जानुपर्ने उनले बताए ।









