ललितपुर २७ साउन । अविरल वर्षाले ल्याएको पहिरोका कारण बाटोघाटो पूर्णरुपमा सुचारु हुन नसक्दा दक्षिण ललितपुरका स्थानीयवासीको दैनिकी जीवन कष्टकर बन्दै गएको छ । विनाशकारी भूकम्पले क्षतविक्षत बनाएको मनलाई पहिरोले बाटो बन्द हुँदा घन्टौ समय हिँड्न बाध्य बनाएर थप पीडा थपेको छ ।
ग्रामीण भेगमा बसोवास गरेका उनीहरुका लागि बजार आवातजावात गर्न सपना जस्तै बनेको छ, अहिले । कच्ची मोटरबाटोलाई पहिरोले थप जोखिम बनाएपछि यस क्षेत्रमा यातायात समेत राम्रो सञ्चालनमा आउन सकेको छैन । यातायातको कठिनाइले दैनिकी रुपमा ढुवानी गरेर लैजानुपर्ने खाद्यान्नमा समेत अवरोध आइरहेको छ ।
खाद्यान्न बाहेक अन्य थुप्रै बन्दोबस्तीका सामान ढुवानीमा पनि अवरोध सिर्जना भएको स्थानीयवासीले गुनासो गरेका छन् । वर्षाका कारण ठाउँठाउँमा आएको पहिरोले यहाँ जीवनयापनमा थप समस्या ल्याएको बताइएको छ । गाउँमा कोही बिरामी परेमा एम्बुलेन्स जाने परिस्थिति समेत रहेको छैन । यसवाट थप धनजनको क्षति हुनसक्नेमा उनीहरुमा चिन्ता बढेको छ ।
राजधानीभित्र पर्ने जिल्ला भए पनि भौगोलिक हिसाबले आधा भू–भाग ग्रामीण क्षेत्रमानै पर्दछ । यहाँ १९ गाविसका बासिन्दा बसोवास गर्दै आएका छन् ।
लगनखेलबाट ३० किलोमिटर टाढाको दुरीमा पर्ने घुसेल गाविसमा रहेका स्थानीयवासी गोविन्द गौतमले भने, “अविरल वर्षात्का कारण आएको पहिरोले तीन सातादेखि बाटो बन्द भएकाले आवश्यक सामान ल्याउन मुस्किल भएको छ ।” उनले अगाडी भने, “बाटो अवरुद्ध हुँदा घन्टौ समय हिँडेर खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता सिर्जना भएको दुःख व्यक्त गरे।”
आफूले खेतबारीमा उत्पादन गरिएकोे तरकारी बजारसम्म पु¥याउन हम्मेहम्मे भएको उनले गुनासो गरे ।
शङ्खु गाविस बस्ने कृष्णमान लामाका अनुसार बाटो पूर्ण रुपले सुचारु हुन नसक्दा दैनिक स्थानीयवासीले कठिन दैनिकी गुजारा गर्नुपरेको छ । दैनिकी उपभोग्य सामान ढुवानीमा आएको समस्याले थप चिन्ता स्थानीयमा बढेको उनको भनाइ रहेको छ ।
उनका अनुसार यहाँका किसानले दैनिक ४० हजार लिटर दूध उत्पादन गर्दै आएका छन् ।
यसैगरी दक्षिण ललितपुरको केन्द्रविन्दु मानिने गोटीखेलका स्थानीयवासी ऋषिदेव फूयाँलकाअनुसार वर्षात्को समयमा आएको पहिरोले जनमानसमा असहज परिस्थिति पैदा गरेको छ । उनले किसानले उत्पादन गरेका मौसमी वा बेमौसमी खाद्यवस्तु बजारसम्म बिक्रीका लागि समस्या भएको बताए ।
पहिरोले हालसम्म पनि जिल्लाको ठूलादुर्लुङ, गिम्दी, आस्राङलगायतका गाविसमा यातायात सञ्चालनमा आउन नसकेको उनले बताए । यसबाट स्थानीयवासीको दैनिकी जीवनमा कष्टकर थप्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
यहाँका १९ गाविसमा विसं २०६८ को जनगणनाअनुसार सात हजार ४२६ घरधुरी सङ्ख्या रहेका छन् । यसैगरी ४५ हजार ६२० जनसङ्ख्या दक्षिण ललितपुरमा बसोवास गर्दछन् ।








