अनसनमा बसेका केसी यसो भन्छन्

Cm_yFZIUcAI8cNIकाठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा सुधार तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाभियोग लगाउनुपर्ने माग सहित आठौं पटक अनशन बसेका डा गोविन्द केसीले अनशनको चौथो दिन युवालाई अघि बढ्न आह्वान गरेका छन् ।

छोटो कुराकानी गर्दै केसीले भने, “हामीले युवा पुस्तालाई राम्रो नेपाल बनाएर दिन सकेनौं, त्यसका लागि सकेसम्म लड्दै त छौं तर युवा पुस्ता आफैं पनि यो लडाईंमा सरिक भएन भने भोलिको सन्तानले पनि दुःख पाउँछन् ।”

लोकमानसिंह कार्कीले सर्वत्र त्रास फैलाएको वर्तमान अवस्थामा सबैजना डराएको बताउँदै लोकतन्त्र त लोकमानतन्त्र भएको र लोकमानसिंह कार्कीले फैलाएको सन्त्रासले सबैतिर मान्छे डराएको बताउँदै डा। केसीले भने, “कायर बन्यो भने देशले, समाजले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।” बेलैमा आवाज नउठाएर देश र समाजका लागि नोक्सान हुन्छ त्यस अवस्थामा मौनता धारण गर्नेलाई पनि दोष जान्छ । कायर नबनौं, बोलौं अनिमात्र एक जिम्मेवार, संवेदनशील समाजको निर्माण हुन सक्छ ।”

नयाँ सरकार बन्ने क्रममा छ अब केही आशा गर्नुभएको छ कि भन्ने प्रश्नमा उनले आफू कुनै सरकार ढाल्ने र बनाउने कार्यमा नलागेको भन्दै अहिले गैर जिम्मेवारीको पराकाष्ठा भएको बताएका छन् । “म तीन करोड नेपालीको अधिकारका लागि लडेको हुँ, नयाँ सरकार आएर केही गरिदेला भन्ने मैले आशा पनि गरेको छैन । मैले सात सात चोटी अनशन बस्दा सबैको रवैया देखिसकेको छु ।”

लोकमानसिंह संविधानभन्दा माथि बसेर कार्य गरेको भन्दै अहिले ‘महाभ्रष्ट’ र ‘आतंककारी’ कार्य गरिरहेको वर्तमान अवस्थामा नेपाली नेतामा अलिकति पनि इमान्दारिता र नैतिकता छ भने लोकमानलाई महाभियोग लगाएर हटाउनुपर्ने बताउँदै डा। केसीले भने, “यदि राजनीतिक दलले केही गर्न सकेनन् भने जनता उठेर तिनलाई वाध्य बनाउनेछन् । संविधानभन्दा माथि कोही नभएको हुनाले महाभियोग लगाउने उनीहरुको कर्तव्य हुन्छ ।”

डा केसी चारदिन अघि अनशन बसेदेखि अहिलेसम्म सरकारी कुनै पनि निकायले सम्पर्क गरेको छैन । पहिलो दिन अन्तिम प्रहरमा आएर अनशन नबस्नु भनेर सन्देश आएको तर त्यसपछि अहिलेसम्म केही कुरा कतैबाट नआएको पनि डा केसीले बताएका छन् ।

अस्पताल प्रशासनले आफूलाई असहयोग गरेको भन्दै उनले त्यो सबै लोकमानसिंहको त्रासका कारण भएको बताए । अहिले आफू सुतेको कोठाको साँचो आफैसँग भएर मात्र अनशन बस्न पाएको भन्दै उनले नत्र अस्पताल प्रशासनले सबैतिर बन्द गरेको बताए ।

डाक्टर केसीको उपचारमा संलग्न डा। स्नेह बन्धु रेग्मीले अस्पताल प्रशासनलाई जिल्ला प्रशासन कार्यालयले पत्रै लेखेर डा केसीलाई कुनै पनि प्रकारको सहयोग नगर्न निर्देशन दिएको हुनाले आफ्नो नैतिक समर्थन हुँदा हुँदै पनि भौतिक समर्थन दिन नसक्ने जनाए ।

डा केसीको स्वास्थ्य बिग्रँदै

डा गोविन्द केसीको स्वास्थ्य क्रमश बिग्रँदै गएको डा। स्नेह बन्धु रेग्मीले जनाएका छन् । रगतमा अक्सिजनको मात्रा निकै कम भएर गएको हुनाले आजैदेखि अक्सिजन पनि दिन थालिएको तथा शरीरमा पानीको मात्रा कम हुँदै गएकोले स्लाइन पनि दिन थालिएको बताएका छन् । डाक्टर केसीलाई छातीमा दुःखाई पनि भएको र कसै कसैले आएर उत्तेजित बनाउने कुरा पनि गर्ने गरेको उनले जानकारी दिए ।

सम्बन्धित शिर्षकहरु